बागलुङ । जेनजी आन्दोलन तथा बाढीपहिरो जस्ता विपत्तिले पर्यटकीय चहलपहल घट्ने अनुमानविपरीत मुस्ताङमा पर्यटकको भिड बढ्न थालेको छ । धार्मिक तथा प्राकृतिक सुन्दरताका कारण मुलुककै महत्वपूर्ण गन्तव्यमा पर्ने मुस्ताङमा यस वर्षको पहिलो छ महिनामा तीन लाखभन्दा बढीले भ्रमण गरेका छन् ।
बेनी–जोमसोम–कोरला सडक, पोखरा–जोमसोम हवाईमार्ग तथा विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङ्ला पास हुँदै मुस्ताङमा वैशाखदेखि असोजसम्म तीन लाख ३४ हजार ७२६ जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । कुल पर्यटकमध्ये एक लाख ८४ हजार स्वदेशी र बाँकी एक लाख ५० हजार ३८८ जना विदेशी पर्यटक रहेका छन् ।
यो अवधिमा असोजमा सबैभन्दा धेरै स्वदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् भने सार्क राष्ट्रबाट जेठ र तेस्रो मुलुकबाट वैशाखमा मुस्ताङ भ्रमण गरेको कार्यालयले जनाएको छ । असोजमा ६२ हजार ५३३ जना स्वदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । जसमध्ये ३४ हजार ५६४ पुरुष र २७ हजार ९६९ महिला पर्यटक रहेका छन् ।
सार्क राष्ट्रतर्फ तीन हजार ७१२ पुरुष, दुई हजार ९७५ महिला गरी कुल छ हजार ६८७ जनाले असोजमा मुस्ताङ भ्रमण गरेको कार्यालयको तथ्याङ्क छ । तेस्रो मुलुकबाट ६०८ पुरुष, ४४० महिला गरी दुई हजार ४२ जनाले भ्रमण गरेका थिए ।
गत वर्षको तुलनामा भने यस वर्ष मुस्ताङ भ्रमणमा आउनेको सङ्ख्या सामान्य घटेको छ । कार्यालयका अनुसार गत वर्षको छ महिनामा एक लाख ३० हजार ४४८ विदेशी र दुई लाख २६ हजार ७९० स्वदेशी गरी तीन लाख ५७ हजार २ सय २३८ पर्यटकले मुस्ताङ भ्रमण गरेको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो ।
जेनजी आन्दोलनका कारण पर्यटकको सङ्ख्या केही प्रभावित हुन पुगेको स्थानीय व्यवसायीको भनाइ छ । पर्यटकका लागि आकर्षक सिजन अक्टोबरमा नेपाल आउने तयारी गरेका विदेशी पर्यटकले जेनजी आन्दोलनका कारण असुरक्षा महसुस गरी भ्रमण रद्द गरेको उनीहरूको अनुमान छ ।

धौलागिरी टेलिभिजन 









