साहसिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास हुँदै गएको पर्वतमा नेपालकै अग्लो स्थानमा हाइलाइनको सफल परीक्षण गरिएको छ ।
जिल्ला सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा जोड्ने गरी ‘द क्लिफ’ले सञ्चालन गरेको विश्वकै अग्लो बञ्जी पुल र ‘द हार्नेस’ प्रालीले सञ्चालन गरेको विश्वकै लामो ‘सुपरम्यान’ शैलीको जिपलाइनलाई जोडेर मुलुकमा पहिलोपटक अग्लो र लामो दूरीमा हाइलाइनको अभ्यास गरिएको हो ।
हाइलाइन मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेलका रूपमा मानिन्छ । कालीगण्डकी खोँचमा ४०८ मिटर लामो र २२८ मिटरको उचाइमा पहिलोपटक हाइलाइनको परीक्षण सफल भएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।
हाल जर्मनीमा बसोबास गर्दै आउनुभएका धनकुटाको हिलेका शङ्कर कोइरालाले लामो समयदेखिको गहन योजनाका रूपमा यो कार्यक्रम गर्नुभएको हो । कोइरालाले १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आएको बताउँदै लामो प्रयासपछि पर्वतमा पनि यो सम्भव भएको उल्लेख गर्नुभयो ।
साहसिक पर्यटन प्रवद्र्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइनको यस्तो प्रयास हुनु पर्यटकका लागि नयाँ खेलका रूपमा स्थापित हुने क्लिफका अध्यक्ष कार्कीले विश्वास व्यक्त गर्नुभयो ।
पहिलोपटक गरिएको हाइलाइनको क्रु सदस्यमा कोइरालासहित तीन जना नेपाली र तीन विदेशी छन् । गत असोज २९ गतेदेखि सुरु भएको हाइलाइन कार्यक्रम शनिबार सकिएको छ । नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेञ्चर हब ‘द क्लिफ’को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको हो ।

धौलागिरी टेलिभिजन 









