बागलुङ। पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको सोमबारदेखि बचत रकम फिर्ता सुरु गरिएको छ । यसअघि उक्त सहकारीको बागलुङ, गलकोट र बुर्तिबाङ शाखाका साना बचतकर्ता (एक लाख रुपैयाँ सम्म) को रकम फिर्ता भइसकेको छ ।
पोखराको सिर्जनाचोकस्थित इमेज सहकारीमा एक लाख रुपैयाँसम्म बचत गरेका १ सय ५८ जनाको बचत रकम फिर्ता सुरु गरिएको इमेज सहकारी संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताउनुभयो । ‘एकसय ५८ जनाको झन्डै एक करोड रुपैयाँ फिर्ता गर्न गइरहेका छौ’, कार्कीले भन्नुभयो ।
उहाँका अनुसार बागलुङका तीन शाखाबाट ६ सय १३ जनालाई करिब ५ करोड रुपैयाँ फिर्ता गरिसकिएको छ । इमेज सहकारीले चारवटै शाखाबाट १ अर्ब ९५ करोड रुपैयाँ बचत फिर्ता गर्नुपर्ने देखिएको कार्कीले बताउनुभयो ।
पर्वतस्थित मीना ग्रुप प्रालिलाई सहकारीका सञ्चालक देवकुमार नेपाली र उनकी श्रीमती छेला नेपालीको नाममा पोखरा, चितवन र काठमाडौंमा रहेका घरघडेरी चलनचल्तीको मुल्यमा दिने र मीना ग्रुपले पहिलो चरणमा साना बचतकर्ताको बचत रकम फिर्ता गर्ने सम्झौता बमोजीम रकम फिर्ता गरिएको हो ।
मीना ग्रुप, नेपाली र संघर्ष समितिका पदाधिकारीबीच यस्तो सम्झौता भएको थियो । एकलाख रुपैयाँ भन्दा माथिका बचतकर्ताको हकमा मिलापत्रलाई अघि बढाइएको कार्कींले बताए । बागलुङका ३ शाखाका १५ सय ७४ जनामध्ये १५ सय ६ जनासंग मिलापत्र भइसकेको उहाँले जनाउनुभयो ।
उहाँका अनुसार बागलुङमा १ अर्ब ३८ करोड रकम फिर्ता गर्नुपर्नेमा १ अर्ब २० करोड बराबरको मिलापत्र भइसकेको छ । पोखराको हकमा ५२४ जनाको ५७ करोड रुपैयाँ दावी गरिएकोमा ३ सय ८७ जनासंग मिलापत्र भएको संयोजक कार्कीले बताउनुभयो ।

धौलागिरी टेलिभिजन 











