बागलुङ। बागलुङको ताराखोला गाउँपालिका–५ का अध्यक्ष मनबहादुर रोकाले व्यवसायीक स्याउ खेती गर्न थाल्नु भएको छ । छ वर्ष अगाडि ताराखोलामा स्याउ खेती परीक्षणका लागि जुम्लाबाट विरुवा लिएर लगाउनु भएका रोकाले अहिले व्यवसायिक रुपमा उत्पादन गर्न थाल्नु भएको हो ।
अध्यक्ष रोकाले समुन्द्री सतहदेखि दुई हजार ४०० मिटरको उचाईमा रहेको ठूलो हिले गाउँमा स्याउ खेतीको सुरुवात गर्नु भएको हो । सुरुमा १०० वटा रोयल रेड जातका स्याउको विरुवा लिएर लगाउनु भएका रोकाको बगानमा अहिले १४० बोट पुगेका छन् ।
उहाँले दुई वर्ष अगाडि थप ८० वटा इटालिएन फुजी स्याउ जातका विरुवा थप्नु भयो । जसले अहिले फल दिएका छन् । सुरुमा रोपको एक सय विरुवा मध्ये ८० वटा मात्रै हुर्किए । चार रोपनी क्षेत्रमा परीक्षणको लागि लगाएको स्याउले उत्पादन दिन थालेपछि यसलाई व्यवसायिक रुपमा अगाडि बढाउने अध्यक्ष रोकाले बताउनुभयो ।
“मैले व्यवसाय गर्नभन्दा पनि ताराखोला क्षेत्रमा स्याउ उत्पादन हुन्छ कि हुँदैन भन्ने हिसाबले परीक्षणका लागि विरुवा लिएर लगाएको हो, हर्दै जाँदा अहिले उत्पादन राम्रो हुने देखिएपछि अब थप खेती विस्तार गर्ने योजना बनाएको छु” अध्यक्ष रोकाले भन्नुभयो – “अहिले १४० वटा स्याउका बोट छन्, ति सबैमा धेरै थोरै फलेका छन्, अब थप क्षेत्र विस्तार गरे १० रोपनीमा खेती गरौँ कि भन्ने लागेको छ, विरुवा पाएसम्म क्षेत्र बढाउने योजना बनाएको छ ।”
रोकाले अहिलेसम्म जम्मा रु एक लाख ५० हजारको हाराहारीमा मात्रै खर्च गर्नु भएको छ । विभिन्न निकायले अनुदानमा विरुवा दिँदा उहाँले धेरै खर्च गर्नु परेको छैन । यस वर्ष करिब चार क्युन्टल स्याउ उत्पादन भएको रोकाले बताउनुभयो । यसपाली थोरै परिणाममा भए पनि बजारमा विक्रीका लागि पठाउने उहाँको भनाइ छ । सबै विरुवामा फल लागेपछि खेती गर्नका लागि उत्साह थपिएको उहाँ बताउनुहुन्छ ।
कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख राजेश्वर सिलवालले समुन्द्री सतहदेखि दुई २०० मिटरदेखि माथि स्याउ उत्पादन हुने तर गुणस्तरमा अल्ली कमी आउने बताउनुभयो । स्याउको जात अनुसार दुई हजार मिटरभन्दा माथि उत्पादन हुन सक्ने उहाँको भनाइ छ । सिलवालका अनुसार बढी सिंचाइ हुने, पानी कम पर्ने र घाम बढी लाग्ने ठाउँमा स्याउ खेती बढी हुने बताउनुभयो ।
बागलुङको ढोरपाटन र निसेल ढोरमा दशक अगाडिदेखि नै व्यवसायिक रुपमा स्याउ खेती हुँदै आएको छ । जिल्लाभर ५६।९२ हेक्टर क्षेत्रमा स्याउ खेत हुने गरेको । वर्षेनी ३३१।२ मेट्रिक टन स्याउ उत्पादन हुने प्रमुख सिलवालले जानकारी दिनुभयो ।

धौलागिरी टेलिभिजन 










