दानमुठीबाट संकलित साढे २ करोडमा मन्दिर र सभाहल

साढे दुई करोड लागतमा बागलुङ नगरपालिका– १ को खुदुर्के मालढुङ्गामा अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन गण्डकी) परियोजनाअन्तर्गत मौलिक शैलीको राधाकृष्ण मन्दिर तथा सभाहल निर्माण गरिएको छ ।

इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट सङ्कलित दुई करोड ५० लाख रुपियाँको लागतमा राधाकृष्णको मन्दिर र सभाहल निर्माण भएको इस्कोन बागलुङका संस्थापक अध्यक्ष परमेश्वर अच्युतदासले बताउनुभयो । उहाँका अनुसार, दानमुठीबाट सयौं वर्ष पुरानो मालढुङ्गास्थित लक्ष्मीनारायण मन्दिर पनि जीर्णोद्वार गरिएको छ ।

मालढुङ्गास्थित लक्ष्मीनारायण गुठीको १७ रोपनी जमिनमा इस्कोन गण्डकी परियोजना सञ्चालित छ । तीन वर्ष अघि निर्माण भएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार कृष्ण मन्दिर परिसरमा ४३ करोडका संरचनाहरु बन्ने छन् ।

सभाहल, मन्दिर, शाकाहारी भोजनालय, धर्मशाला र अतिथिगृह, कालीगण्डकी किनारमा स्नानस्थल, आरतीको विशेष मञ्च र ध्यानस्थल निर्माण गरिने अध्यक्ष अच्युतदासले जानकारी दिनुभयो ।

इस्कोनका सदस्य तथा दानमुठी गर्ने भक्तजनबाट सङ्कलित रकमबाट ती संरचना बनाउने गरी डिपिआर बनेको अच्युतदासले बताउनुभयो । कालीगण्डकी नदी किनारमा बसेर ध्यान गर्ने, नियमित स्नान गर्ने संरचना पनि बन्ने छन् ।

इस्कोनमा विदेशबाट आउने अधिकांश भक्तजनहरु फर्किंदा कालीगण्डकी नदीमा स्नान गर्ने र गंगाजल लैजान चाहेकाले सहज व्यवस्थाका लागि नदी किनारमा स्नान संरचना निर्माण गर्न लागिएको हो ।