वैदेशिक रोजगारीमा ठगिएकाको ५५ लाख फिर्ता

बागलुङ । बैदेशिक रोजगारीमा ठगिएका बागलुङ जिल्लाका २२ जनाको ५५ लाख रकम फिर्ता भएको छ । एक वर्षमा १ सय २८ वटा वैदेशिक रोजगारीसँग सम्बन्धित घटना मध्ये २२ जनाको ५५ लाख रकम फिर्ता गरिएको हो ।

७२ वटा वैदेशिक ठगीमध्ये २२ वटा ठगीको उजुरी समाधान भएर ठगिएको ५५ लाख १५ हजार फिर्ता भएको आप्रवासी स्रोत केन्द्र बागलुङको सूचना तथा परामर्शकर्ता गङ्गा शर्माले बताउनुभयो ।

उहाँले एक वर्षमा १ सय २८ वटा वैदेशिक रोजगारीसँग सम्बन्धित घटना दर्ता भएकोमा ५८ वटा समस्या समाधान गरेको जानकारी दिनुभयो । सम्पर्कविहीन, कागजपत्र नभएको, विदेशमा जेल जीवन बिताउँदै आएका २५ वटा उजुरी दर्ता भएकामा १३ वटा समस्या समाधान भएको शर्माको भनाई थियो ।

त्यसैगरी एक वर्षमा १० जना विदेशमा मृत्यु भएकाको शव ल्याउने र राहत रकम परिवारलाई भुक्तानी गर्ने काम भएको केन्द्र बागलुङका प्रमुख मीन उपाध्यायले जानकारी दिनुभयो । दश मृत्यु तथा छ वटा अङ्गभङ्ग भएका उजुरीमध्ये १३ वटाको समस्या समाधान गरिएको र परिवारले ६७ लाख छ हजार राहत रकम प्राप्त गरको केन्द्र प्रमुख उपाध्यायले बताउनुभयो ।

उपाध्यायले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएकाले ठगी, अङ्गभङ्ग, मृत्यु तथा जेल पर्नेजस्ता घटनाको सङ्ख्यामा वृद्धि भएको बताउनुयभो । उहाँले काम, दाम, कम्पनी फरक र पासपोर्ट जफत लगायतका १५ वटा उजुरी दर्ता भएकामा १० वटा उजुरीको समस्या समाधान गरिएको उल्लेख गर्नुभयो ।

उपाध्यायले जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा कन्सुलर सेवा विभागबाट प्राप्त २१ लाख ३० हजार २ सय ५४ वैदेशिक रोजगारीसँग सम्बन्धित पीडितलाई उपलब्ध गराइएको पनि जानकारी गराउनुभयो ।