बागलुङ । युवाहरु विदेश पलायन र कृषि जनशक्तिको अभावले बागलुङमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएको छ । बागलुङमा कुल खेतीयोग्य जमिन २५ प्रतिशत रहेपनि हालसम्म १७ प्रतिशत जमिनमा मात्र खेती गरिएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङको तथ्याङ्क अनुसार बागलुङको कुल खेतीयोग्य जमिनमध्ये १५ हजार ६ सय ४५ हेक्टर जमिन बाँझो छ । बागलुङको एक लाख ७८ हजार चार सय ६ हेक्टर जमिनमा ४६ हजार एक सय ४८ हेक्टर जमिनमा खाद्यन्न उत्पादन गर्न सकिने ज्ञान केन्द्रका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत सन्तोष अधिकारीले बताउनुभयो ।
अधिकृत अधिकारीका अनुसार बागलुङबाट युवाहरु वैदेशिक रोजगारीमा जाने र गाउँमा वृद्धा भएका आमाबाबु मात्र हुने गरेकाले खाद्यन्न उत्पादनमा कमी आएको छ । बागलुङमा कुल खेती हुने जमिनको २० प्रतिशत जमिनमा मात्र सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।
अधिकारीका अनुसार खेती गरिएको जमिनमध्ये ६ हजार एक सय ५६ हेक्टर जमिनमा सिंचित सुविधा पुगेको हो । बागलुङमा दुई हजार सात सय ७६ हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ हुने गरेको छ ।
यस्तै तीन हजार तीन सय ८० हेक्टर जमिनमा मौसमी सिँचाइ छ भने २४ हजार तीन सय ४७ हेक्टर जमिनमा सिँचाइ नपुगेको अधिकारीले बताउनुभयो । जिल्लामा अहिले एक लाख एक हजार ५१ मेट्रिकटन खाद्यान्न उत्पादन हुने गरेको छ । जिल्ला उत्पादन हुने मुख्य खाद्यान्न भनेको मकै, गहुँ, कोदो, धान हो भने फलफूल तथा अन्य खेती हुँदै आएको छ ।

धौलागिरी टेलिभिजन 











