बागलुङ । बागलुङको तमानखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा गरिएको छ ।
जन्मेदेखि १५ महिना उमेर समूहका १ सय ६३ जना नियमित खोप लगाईरहेको र १६ देखि २४ महिना उमेर समुहका १ सय १४ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिकाका छ वटै वडाका स्वास्थ्य संस्थाहरुबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताउनुभयो ।
सुरुमा सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेको उहाँको भनाइ थियो । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेको छन्त्यालले बताउनुभयो ।
बालबालिकाले पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइड लगायतका रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको उहाँले बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले भौगोलिक विकटताका बाबजुत पनि स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन गर्न सफल भएको बताउनुभयो ।

धौलागिरी टेलिभिजन 











