
बागलुङ । बागलुङको धौलागिरी अस्पताल १५ वर्षपछि स्तरोन्नति भएको छ । २०६७ सालमा जिल्ला अस्पतालबाट ५० शैयाको धौलागिरी अञ्चल अस्पतालको रूपमा सञ्चालनमा आएको अस्पताललाई गण्डकी प्रदेश सरकारले १५ वर्षपछि सय शैयामा स्तरोन्नति गरेको छ ।
२०६७ सालमा जिल्ला अस्पतालबाट अञ्चल अस्पताल भएपछि विशेषज्ञ सेवा दिदै आएको अस्पतालले स्तरोन्नतिसंगै विशिष्टीकृत सेवा दिन थालेको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ड डा.किरण तिवारीले जानकारी दिनुभयो ।
५० शैयाको अस्पतालबाट स्तरोन्नति नहुँदा अस्पतालमा अहिले सम्म दरबन्दी थपिन सकेको थिएन ।
गत वर्षनै नर्सिङ पढाउने गण्डकी प्रदेश सरकारको घोषणा भएपनि अस्पताल स्तरोन्नति नहुँदा नर्सिङ पढाउन समस्या भएको बताउदै स्तरोन्नति पश्चाता नर्सिङ पढाउन बाटो खुलेको डा. तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार अहिले अस्पतालमा २२ जना विशेषज्ञ र १० जना मेडिकल अधिकृत कार्यरत रहेका छन् ।
वि.सं. २०१५ सालमा धौलागिरी अस्पताल डिस्पेन्सरीको रुपमा स्थापना भई २०१६ सालमा स्वास्थ्य केन्द्रमा स्तरोन्नति गरिएको थियो । पछि २०३३ सालदेखि यो अस्पतालले बागलुङ जिल्ला अस्पतालको रुपमा आफ्नो सेवा सञ्चालन गरेको थियो ।
अस्पतालको स्तरवृद्धि गरेपछि नर्सिङ कक्षा चलाउन आगमी वर्षमा बजेट समेत व्यवस्थापनको काम गरिने गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले ९ अस्पतालको एकमुष्ठ स्तरोन्नति गर्ने निर्णय अनुसार धौलागिरी अस्पताल स्तरोन्नति गरिएको छ ।