
बागलुङ। बागलुङ नगरपालिका–५ मालिका निवासी कालिका किसानले घरमा हुर्काएको छमहिने बाख्राको पाठी तुलसी सापकोटालाई उपहार प्रदान गर्नुभयो ।
‘आत्मनिर्भर बागलुङ’ कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले हेफर परियोजनाको प्राविधिक सहयोगमा महिलाहरूलाई एक सय चार बाख्राका पाठी वितरण गरेको छ ।
यसअन्तर्गत सापकोटाले उपहारमा पाठी प्राप्त गर्नुभएको हो। कालिका किसानले गत वर्ष पाएको बाख्राबाट जन्मेको पहिलो पाठी सापकोटालाई उपहारस्वरुप प्रदान गर्नुभएको हो ।
बागलुङ नगरपालिकाको आर्थिक सहयोग, हेफरको प्राविधिक सहयोग तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनको व्यवस्थापनमा बागलुङ नगरपालिकाभित्रका १० वडामा गत वर्षदेखि आत्मनिर्भर बागलुङ कार्यक्रम लागू गरिएको छ ।
आत्मनिर्भर बागलुङ कार्यक्रमअन्तर्गत मालिकामा गठित तीन अगुवा आमा समूहमार्फत गत वर्ष १९ बाख्राको पाठी प्राप्त गरेका महिलाले अहिले १९ पाठा उपहारमा छिमेकीलाई प्रदान गर्नुभएको छ ।
कालिका किसानले गत वर्ष लगेको बाख्राबाट जन्मेको पाठी बिउँपुजीका रूपमा सापकोटालाई दिनुभएको हो ।
उपहार कार्यक्रमले महिलालाई आयआर्जनमा सघाउने भएकाले आत्मनिर्भर बागलुङ कार्यक्रम सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । नगरप्रमुख श्रेष्ठले उपहार स्वरूप १९ बाख्राका पाठी विपन्न तथा लक्षित महिलालाई वितरण गर्नुभएको थियो ।
नगरपालिकाका १४ मध्ये १० वडामा उक्त कार्यक्रम सञ्चालनमा आएको छ । कार्यक्रमबाट दुई वर्षमै दुई सय आठ महिला लाभान्वित भएका छन् । उनीहरूलाई बाख्रापालनका लागि बीउपुँजीबाट सहयोग मिलिरहेको छ ।
समूहअन्तर्गत रहेका महिला विस्तारै बाख्रापालनको रकमलाई बचत गर्दै लैजाने योजनामा छन् । आत्मनिर्भर बागलुङ कार्यक्रम १८ मूल समूहअन्तर्गत ७२ उपसमूह गठन भइसकेका छन् ।
महिलाहरूलाई दिएको पाठीलाई हुर्काउने र बीउपुँजीका रूपमा विकास गर्दा आयआर्जनमा सघाएको थुप्रै उदाहरण रहेको जनाउँदै अन्य पालिकामा महिलाले बाख्रापालन गरेरै सहकारी चलाउने र करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेको नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका कार्यक्रम व्यवस्थापक ममिता पुनले बताउनुभयो ।