बढेको भत्तालाई तलबमा गाभेर पेन्सन दिनुपर्ने माग

बागलुङ ।  पुर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपाल जिल्ला शाखा बागलुङले बढेको भत्तालाई तलबमा गाभेर पेन्सन सुविधा बढाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

हालै बजेट भाषणमा कर्मचारीको भत्ता मात्रै ३ हजार बढाएकोले त्यसबाट निवृत्त भएका कर्मचारीको सेवासुविधामा कुनै प्रभाव नपरेकोले महंगी भत्ताको अनुपातमा पेन्सन सेवा बढाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जेठ १५ गते प्रस्तुत गरेको बजेटमा बहालवाला राष्ट्रसेवकको हकमा तलब स्केल नबढाई वृद्दि भएको बजार मुल्यलाई थोरै मात्रामा भएपनि सम्बोधन गरेको तर निवृत्त राष्ट्रसेवक कर्मचारीलाई सम्बोधन नगरेकोमा सरकारको ध्यानाकर्षण गरेको हो ।

जीवनका महत्वपूर्ण उर्जाशिल उमेर राष्ट्रका लागि समर्पण गरेर निवृत्त भएकाहरुलाई राज्यले अतिरिक्त सम्मान दिनुको साटो अपमान गरेको आरोप उनीहरुको छ ।

नेपालको संविधानले प्रत्याभुत गरेको समानताको हक र सम्मानपुर्वक बाँच्न पाउने हक बिपरित सरकारले असमान निर्णय गरेको उनीहरुले बताए । सो निर्णय सच्याएर सबैलाइ समान व्यवहार गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको हो ।

पुर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपाल बागलुङका अध्यक्ष चिरन्जीवि कुमार श्रेष्ठ, पुर्व कर्मचारी सेवा परिषदका अध्यक्ष महेन्द्रसिंह रायमाझी, सेवा निवृत्त राष्ट्रसेवक समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठ, निवृत्त शिक्षक समाजका अध्यक्ष टिकाराम सापकोटा, नेपाल राष्ट्रिय भुतपुर्व प्रहरी संगठनका अध्यक्ष टिकाबहादुर कार्की, नेपाल राष्ट्रिय भुतपुर्व सैनिक संघका अध्यक्ष तिलकबहादुर थापा क्षेत्री र नेपाल पुर्व सशष्त्र प्रहरीबल बागलुङका अध्यक्ष हिमनाथ कंडेलले सयुक्त हस्ताक्षर गरेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको पनि ध्यानाकर्षण गराएका छन् ।

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानकर्षण पत्र पठाएको हो । सोमबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो ।

पुर्व राष्ट्रसेवक संगठन, राष्ट्रिय समन्वय परिषद जिल्ला शाखा बागलुङका अध्यक्ष चिरन्जिवि कुमार श्रेष्ठको अध्यक्षता र पुर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपाल जिल्ला शाखाका महासचिव बद्रीप्रसाद पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।