बागलुङ। बागलुङका किसानहरुले आधुनिक यन्त्रको प्रयोग गरि गहुँ चुट्न थालेका छन् । किसानले थ्रेसर मेसिनबाट गहुँबाली काट्ने र चुट्ने काम थालेका हुन् ।
जनशक्ति कम लाग्ने र छिटो छरितो गहुँ चुट्न सकिने भएपछि किसानले यसको प्रयोग गरेका छन् । थ्रेसर मेसिनको प्रयोगबाट एक दिनभरी लगाएको गहुँबाली एक घण्टामा चुट्न सकिने स्थानीय शुसिला शर्माले बताउनुभयो ।
खेतमा सजिलै मेसिन लैजान मिल्ने उल्लेख गर्दै शर्माले गहुँ, नल र भुस छुट्टाछुट्टै निकाल्ने भएपछि निकै सहज भएको बताउनुभयो ।
यसबाट बाली भित्र्याउन लागत समेत घटने गरेको किसानको भनाइ छ । किसानलाई धान र गहुँ चुट्ने, खेत जोत्ने मेसिन लगायका अत्याधुनिक प्रविधिहरु कृषि ज्ञान केन्द्रले अनुदानमा उपलब्ध समेत गराउँदै आएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्रले विपन्न परिवारलाई ९० प्रतिशत, समुह तथा सहकारीलाई ७५ प्रतिशत र व्यक्तिलाई ५० प्रतिशत अनुदानमा धान र गहुँ चुटने थ्रेसर मेसिन किसानलाई उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख राजेश्वर सिलवालले बताउनुभयो ।
मेसिनमार्फत बाली भित्र्याउन किसानलाई सहज र छिटो हुने गरेको बताउँदै सिलवालले अहिले यसको माग बढदैगएको र खेतीपाती गर्ने समयमा कामदार नपाउने अवस्थामा किसानका लागि यो यन्त्र उपयोगी बनेको जानकारी दिनुभयो ।
खेतीबाली लगाउन क्रममा जोत्ने र चुट्ने आधुनिक उपकरहरु पाउन थालेपछि किसानहरु खुसी भएका छन् । गाउँघरमा जनशक्तिको अभावलाई कम गर्न मेसिनले सहयोग पुगेपछि किसान यसतर्फ आकर्षित हुँदै गएका छन् ।

धौलागिरी टेलिभिजन 










