नेकपा (एमाले) बागलुङद्वारा सचेतना जागरण सभा

नेकपा (एमाले) बागलुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा बागलुङ बजारमा जागरणसभा गरेको छ ।

मुलुकमा भइरहेका प्रतिगामी हर्कत विरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियान अन्तर्गत जिल्लामा जिल्लास्तरीय जागरणसभा गरेको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले देशमा लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको कुरामा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रिय पोलिव्युरो सदस्य मनकुमारी केसी जिसीले जनताको अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउने, जनताको अधिकार हनन् गर्ने जस्ता कारणले नेपालमा राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै राजतन्त्र फर्काउने कल्पना कसैलाई नगर्न आग्रह गर्नुभयो ।

बिभिन्न नाराका साथ बागलुङ बजार परिक्रमापछि लोकतान्त्रिक चोकमा आयोजित कार्यक्रममा केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा र केन्द्रिय सदस्य डाक्टर सूर्य पाठकले नेपाली जनताको एकता र शक्तिले राजतन्त्रको अन्त्य भएकाले अव राजतन्त्र आउछ भन्ने भ्रममा नपर्न सवैलाई अनुरोध गर्नुभयो ।

कार्यक्रम नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता र सचिव गणेश थापाको संचालनमा सम्पन्न भएको थियो ।