सिवाईसीले दुई सातामा ५ सय शेयर सदस्य बढाउने

बागलुङ । ६८ औं सहकारी दिवशको अवसर पारेर सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले दुइ सातामा ५ सय शेयर सदस्य थप गर्ने भएको छ । पछिल्ला समय सहकारीप्रति जनविश्वास घटिरहेको बेला सिवाईसीले नागरिकको बचत सुरक्षा गर्दै लगानी समेत बढाउने लक्ष्य लिएको हो ।

चैत महिनाभित्रै ५ सय शेयर सदस्य बढाएर ५ करोड लगानी गर्ने तथा ५ करोड नै बचत संकलन गर्ने लक्ष्य राखिएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बताए । केही समयअघि देशभरका ठूला भनिएका सहकारीमा समस्या आएको थियो भने बागलुङका पनि इमेज र शिवशिखर सहकारीमा समस्या आएपछि सयौं बचतकर्ताको करोडौं रकम हिनामिना भएको थियो ।

त्यो अवस्थाले धेरै सहकारीप्रति घटेको विश्वास बढाउन सिवाईसी सफल भएको पौडेलले दाबी गरे । सहकारी उत्कृष्ट बनेकै कारण देशभरबाट एक वर्षमा १० हजार बढी सहकारीकर्मीले सिवाईसी भ्रमण गरेको उनको भनाई थियो ।

‘हामीले तथ्यांक पनि राखेका छौं, देशभरबाट सहकारीका शेयर सदस्यहरु भ्रमण गर्न आउनुभएको छ’ उनले भने, ‘हामीले पनि पारदर्शी रुपमा कारोवार देखाउँदा सबै प्रभावित भएका छन् ।’

भाखा नाघेका केही ऋणी भएपनि अब थर्काएर नभई सम्झाएर कारोवारमा ल्याउने योजना उहाँले सुनाउनुभयो । शेयर सदस्यलाई भेटेर उनीहरुको समस्याबारे बुझ्दा खराब ऋणी पनि घट्ने र सहकारीप्रतिको विश्वास पनि बढ्ने उनको भनाइ छ ।

सिवाइसिमा अहिले पनि २६ हजार २ सय ४१ शेयर सदस्य छन् । ६ हजार १५ जना बालबचतकर्ता, ५ हजार १ सय १५ ऋणी छन् । ३९ करोड २१ लाख शेयर पूँजि भएको सहकारीमा १ अर्ब ५३ करोड बचत र १ अर्ब ३३ करोण ऋण लगानी छ । २५ वटा सदस्य सेवा केन्द्रबाट काम गर्न ९४ जना कर्मचारी छन् ।

‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नारासहित मनाउन लागिएको सहकारी दिवशको अवसरमा सदस्य भेटका लागि सिवाइसीले अभियान बनाएको छ । जसअन्र्तगत चैत १३ गतेदेखि नै काम शुरु भएको हो ।

चैत २० गते सबै सहकारीले मुल समारोह गर्नेछन् । पत्रकार सम्मेलनकै अवसरमा महासंघले संचालन गरेको पत्रकार लेखनवृत्ति कोषमा सिवाईसीले १५ हजार रुपियाँ सहयोग गरेको छ ।