श्रमदान संस्कृति : विकास निर्माणमा जुट्दै युवा

बागलुङ । पर्वतको कुश्मा नगरपालिकास्थित पाङ र खुर्कोटका युवा सामुदायिक श्रमदान संस्कृतिको जगेर्नामा जुटेका छन् । युवा सामुदायिक श्रम संस्कृति जगेर्ना गरी गाउँको विकास निर्माणमा लागेका हुन् ।

रोजीरोटीका लागि युवाशक्ति विदेश पलायन हुँदा गाउँघरतिर सामाजिक भावनाले काम गर्ने मानिस समेत पाउन कठिन भएको अवस्थामा युवाहरु श्रमदान संस्कृतिको जगेर्नामा जुटेका छन् ।

केही दशक अघिसम्म गाउँले मर्दा र पर्दा सेवा गर्नुपर्छ भन्ने भावनाले एक आपसमा सहयोगको आदानप्रदान बढी नै हुने गर्दथ्यो । बसाईसराईका कारण मानिस सहर बजार झर्ने गर्दा गाउँघर रित्तिदै गएका छन् ।

गाउँमा चलाइएको जनश्रमदान अभियानमा युवासँग वडा जनप्रतिनिधि सदस्य भिमनिधि रेग्मी र निरुता परियारले समेत हातेमालो गर्दै आउनुभएको छ । जनश्रमदान अभियानमा स्वतःफूर्त जोडिएका दर्जनौ संख्यामा युवाले डेढ किलोमिटर लामो बाटोको दायाँबायाँ किनारको झाडी पन्छाउने, नालीमा भएको माटो र पहिरो हटाउने साथै बिग्रिएको सडकमा ढलान गरेका थिए ।

गाउँमा विकास निर्माण भएको तर त्यसको दिगो व्यवस्थापन नहुँदा सामाजिक विकासमा अवरोध श्रमदानमा जुट्नु परेको युवाको भनाइ छ । वडा २ का अध्यक्ष लालकिस्न बास्तोलाले गाउँका युवावर्ग श्रमदानमा जुट्दा जनप्रतिनिधिलाई पनि हौसला मिलेको बताउनुभयो ।

खुर्कोटका युवाले पहिलेको श्रमदान संस्कृतिलाई पुनः स्थापित गरी गाउँको विकास निर्माणमा श्रम, सीप र ज्ञान लगाउने बताएका छन् । स्थानीय युवा किस्नप्रसाद शर्माले जनश्रमदान संस्कृतिलाई निरन्तरता दिँदै गाउँका बाटाघाटा, कुलो, सामुदायिक वनको संरक्षण, पोखरी, चौतारा लगायतको मर्मत, सम्भार साथै संरक्षण गरी विकास निर्माणमा सहभागी हुने बताउनुभयो ।