मुस्ताङको कागबेनी स्नानस्थल जोखिमपूर्ण

बागलुङ। दिवङ्गत पितृकार्यका लागि प्रसिद्ध मानिएको पवित्र धार्मिकस्थल मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीको स्नानस्थलमा दुर्घटनाको जोखिम बढेको छ ।

तीर्थालुका लागि बनाइएको स्नानस्थल जोखिमपूर्ण हुँदा श्राद्ध गर्न आउने भक्तजनमा सम्भावित दुर्घटनाको डर बढेको हो ।

कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनका लागि कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समिति र यहाँका स्थानीयले सीमित स्रोतसाधनमा श्राद्ध गर्न आउने तीर्थालुलाई सहज व्यवस्थापन गर्ने प्रयास गरे पनि त्यो पर्याप्त हुन नसकेको बताइएको छ ।

श्राद्धस्थल साँघुरो हुँदा श्राद्ध गर्न, पूजापाठ तथा स्नान गर्न समस्या र चुनौती हुने गरेको भक्तजनको भनाई रहेको छ ।

विसं २०८० साउन २८ गते कागखोलामा आएको बाढीले यसअघि रहेको भौतिक संरचनामा क्षति पु-याएको थियो ।

उक्त बाढीले स्थानीयको घर, बैंक तथा वित्तीय संस्था, कागबेनी श्राद्धस्थललगायत खेतीयोग्य जग्गामा करोडौँको भौतिक क्षति पु-याएको थियो ।

जिल्लाका स्थानीय, सरोकार भएका निकाय र कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिको पहलमा अर्थ सङ्कलन गरी कागखोला धारलाई नियन्त्रणको प्रयास गरिएको समितिकी अध्यक्ष लक्ष्मी गुरुङले बताउनुभयो ।

श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा तीनै तहका सरकारले चाँसो नदिँदा समस्या भइरहेको समितिकी अध्यक्ष गुरुङले दुःखेसो गर्नुभयो ।

कागबेनीमा बाढीले क्षति पु¥याएको क्षेत्रको मर्मत तथा पुनः निर्माण गरी संरक्षण र प्रभावकारी व्यवस्थापनमा तीनै तहका सरकारले समन्वय र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो

अध्यक्ष गुरुङले समितिले भक्तजनबाट प्राप्त दान र सहयोग रकमबाट अस्थायी रूपमा श्राद्धस्थल र स्नानस्थल निर्माण गरेको बताउनुभयो ।

श्राद्धस्थललाई दीर्घकालीन रूपमा भरपर्दो बनाएर थप व्यवस्थापन गर्न कालीगण्डकी नदी र कागखोलालाई बृहत आरसिसी तटबन्धनको आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।