पर्वतमा ४१ जना क्षयरोगका बिरामी भेटिए

बागलुङ । जिल्लाको पछिल्लो तथ्याङ्क अनुसार पर्वत जिल्लामा ४१ जना क्षयरोगका बिरामीहरू पत्ता लागेका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका क्षयरोग फोकल पर्सन नारायण रेग्मीले पर्वतमा ६५ वर्ष उमेर समूह माथिका ४१ जनामा क्षयरोग देखिएको र नियमित औषधी सेवन गरिरहेको बताउनुभयो ।

पर्वतका सात स्थानीय तह मध्ये सबै भन्दा धेरै १६ जना पैयुँ गाउँपालिकामा क्षयरोगका बिरामी भेटिएको रेग्मीले जानकारी दिनुभयो ।

रेग्मीका अनुसार रोग पत्ता लागेका बिरामीहरू नियमित रूपमा स्वास्थ्य संस्थाबाट औषधी सेवन गरिरहेको भएपनि कतिपय बिरामीहरू विविध कारण देखाएर परीक्षण गर्न नमान्ने र रोग लुकाएर बस्ने अवस्थाले गर्दा समस्या उत्पन्न भएको छ ।

उहाँले रोग पत्ता लगाउन र निवारणको चरणमा पु¥याउनका लागि प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतले विभिन्न सामुदायिक सचेतना तथा स्क्रिनिङ शिविरहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।

पैयुँ गाउँपालिकाले क्षयरोगका बिरामीलाई नियमित औषधी उपचार सँगै मासिक १ हजारका दरले ६ महिना सम्म पोषण भत्ता दिने गरेको पैयू स्वास्थ्य शाखा प्रमुख देवीप्रसाद भुर्तेलले बताउनुभयो ।

जनस्वास्थ्य कार्यालय पर्वतले दिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष क्षयरोगका बिरामीको सङ्ख्यामा कमी भएको देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ७२ जना क्षयरोगका बिरामी पत्ता लागेका थिए ।

बिरामीको सङ्ख्या घट्नुको कारण परीक्षण कम भएर पनि हुन सक्ने भन्दै जनस्वास्थ्य कार्यालय पर्वतले विभिन्न स्थानीय तह सँग समन्वय गरी परीक्षणको दायरा बढाउन अनुरोध गरेको कार्यालयका प्रमुख बद्रीराज आचार्यले बताउनुभयो ।