म्याग्दी-कास्की बैठक : लागुऔषध नियन्त्रणका लागि सीमा नाकामा कडाई गरिने

बागलुङ । म्याग्दी र कास्की जिल्लाले लागुऔषध नियन्त्रणका लागि जिल्लाका सीमा नाकामा कडाई गर्ने निर्णय गरेका छन् ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आयोजित अन्तर जिल्ला समन्वय बैठकमा पछिल्लो समय म्याग्दीमा कास्कीहुँदै लागुऔषधको बिक्री बढेको भन्दै लागुऔषध विरुद्ध कडाईका साथ लाग्ने निर्णय गरिएको हो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले म्याग्दीका ग्रामिण क्षेत्रबाट गाँजा र चरेसको ओसारपोसार तथा कास्की हुदै पर्वत र बागलुङको नाकाबाट अवैध करोबार र ओसारपसारलाई नियन्त्रण तथा लागुऔषधको उत्पादनलाई निस्तेज पार्न दुवै जिल्लाका सीमा नाकामा सुरक्षा जाँचलाई थप कडाई गर्ने निर्णय गरेको बताउनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले शान्ति सुरक्षा कायम गर्न र लागुऔषध ओसारपसार र सूचनाहरू आदानप्रदान, विपद्का घटनाहरूसँग समन्वय, सुरक्षाका लागि अन्तर जिल्लास्तरीय सुरक्षा बैठक गरिएको जानकारी दिनुभयो ।

म्याग्दी र कास्की जिल्लाको सीमाना जोडिएका क्षेत्रहरूका साथै छिमेकी जिल्लासँग समेत समन्वयका लागि समयसमयमा बैठक बस्नुपर्ने पाण्डेको भनाइ थियो ।

समन्वय बैठकले अन्तर जिल्लास्तरीय सुरक्षा, विपद्का घटनाहरूमा समन्वय र अपराधका घटनाहरूलाई न्यूनिकरण, सुरक्षा प्रमुखहरूबीच चिनजानका साथै चोरी पैठारी र तस्करी नियन्त्रण, महिला बेचबिखन र फरार अपराधीहरूलाई पक्राउ गर्नका लागि समन्वय बैठकमा छलफल भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रजिअ अनिशा आचार्यले बताउनुभयो ।