
बागलुङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक आयोजनाको निर्माणाधीन माढुङ्गा–बेनी सडक खण्ड अन्तर्गत पर्ने पर्वत बेनीमा सडक विस्तारमा स्थानीयवासीहरुले अवरोध सिर्जना गरेका छन् ।
जलजला गाउँपालिका ३ स्थित पर्वत बेनी बजार क्षेत्रको सडक निर्माणमा घरधनीहरुले अवरोध पु-याएका हुन् । घरधनीहरुले सडक निर्माणमा अवरोध सिर्जना गरेपछि यो खण्डमा सडक स्तरोन्नति सहित कालोपत्रेको काम रोकिएको छ ।
नाली सहितको ११ मिटर सडकको मापदण्ड भएपनि हाललाई घरहरु नभत्काई ९ मिटरको सडक कायम गरी आयोजनाले कालोपत्रे गर्न खोजेपनि घरधनीहरुले काम गर्न अवरोध सिर्जना गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विष्णु चापागाईंले बताउनुभयो ।
घरधनीहरुले आयोजनाबाट खटिएका इन्जिनियर तथा कर्मचारीलाई काममा अवरोध सिर्जना गर्ने, सडक नाप्न नदिने र उपकरण खोसेर फालिदिने लगायतका कार्य गरेको उहाँले बताउनुभयो ।
सडक विस्तारमा अवरोध भएपछि अहिलेलाई यो खण्डको कालोपत्रे गर्ने कार्यलाई ठेक्काबाट हटाउने प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
आयोजना कार्यालयले प्रभावित घरधनी, स्थानीय जनप्रतिनिधि र पर्वतका प्रमुख जिल्ला अधिकारी सहित समस्या समाधान गर्न पटकपटक छलफल गरेपनि घरधनीहरु सकरात्मक नभएको उहाँले बताउनुभयो ।
सडक विस्तार गर्दा धेरै घरहरु विस्थापित हुने भएकाले यो खण्डको विकल्प खोज्नुपर्ने धरधनीहरुको गुनासो रहेको छ ।
आयोजना अन्तर्गत अहिलेसम्म पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्से खण्डमा पाँच किलोमिटर दुई सय मिटर सडक कालोपत्रे भएको आयोजनाका सव–इञ्जिनियर सोहनजङ कार्कीले बताउनुभयो ।