सामुदायिक स्वास्थ्य केन्द्रमै बर्थिङको सेवा

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका २ को अर्नाकोटमा खुलेको सामुदायिक स्वास्थ्य केन्द्रमा संचालित बर्थिङ सेन्टरले ग्रामीण बासिन्दालाई सहज बनाएको छ ।

सडक संजालको समस्याले तत्काल अस्पताल पुग्न कठिन हुँदा यहाँका महिलाले प्रसुतीको बेला पाउने दुःख कम भएको स्थानीयले बताएका छन् ।

पहिला बुर्तिवाङ पुग्नुपर्ने बाध्यता हटेर गाउँमै सुरक्षित सुत्केरी सेवा पाएको स्थानीय रमा बिकले बताउनुभयो ।

अर्नाकोट सामुदायिक स्वास्थ्य इकाइमा तीन वर्षदेखि बर्थिङ सेन्टर संचालनमा छ । यो सेन्टरमा वर्षमा १२ जनासम्मले सुरक्षित सुत्केरी सेवा पाएका हुन् ।

बर्थिङ सेन्टरका लागि दाताहरुले साथ दिएपछि सफलता मिलेको स्वास्थ्य चौकीका अहेब चेतबहादुर कुँवरले बताउनुभयो ।

८ पटकसम्म गर्भ जाँच गरेर स्वास्थ्य संस्थामै सुत्केरी भएमा सरकारी नियम अनुसार २ हजार रुपैयाँ बाटो खर्च समेत दिन थालिएको छ ।

नियमति गर्भ जाँच नभएमा इकाइबाटै घरभेट गरेर उनीहरुको स्वास्थ्य अवस्थाबारे बुझ्न थालिएको हो ।

यो विधिले होम डेलीभरी भने शुन्य उन्मुख भएको जनाइएको छ । बर्थिङ सेन्टर स्थापनाका लागि कर्मा फ्लाइट फाउण्डेसनले भवन बनाइदिएको जनाइएको छ ।

२० लाख रुपैयाँ सहयोग गरेपछि बनेको भवनमा २५ लाखका उपकरण समेत सहयोग गरेको थियो ।

फाउण्डेसनले १० लाख खर्चेर प्रसुती प्रतिक्षाघर समेत निर्माणको काम थालेको छ । सुत्केरी गराउने बेड, बेवी वार्मर लगायतका मेसिन भने फेयरमेड फाउण्डेसनले सहयोग गरेको थियो ।

हाल गाउँपालिकाले औषधी उपचारका लागि सामाग्री, नियमित स्वास्थ्य परीक्षणको व्यवस्थापन र खोप क्लिनिक संचालन गर्दै आएको छ ।