पर्यावरण संरक्षणका अभियन्ता आरके अदीप्त गिरी सम्मानित

कालीगण्डकी बचाऔं अभियानका अभियन्ता तथा संरक्षणकर्मी आरके अदिप्त गिरी सम्मानित हुुनु भएको छ ।

वातावरण संरक्षणका लागि महाअभियान कास्कीले नागरिक समाज कास्कीको सहयोगमा गिरीको सदरमुकाम कुश्माबजारस्थित निवासमै आएर सम्मान गरेको हो ।

कालीगण्डकी बचाऔं अभियानमार्फत नागरिकमा जागरण फैलाउनुका साथै प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदा लगायत पर्यावरण संरक्षणमा उल्लेखनीय योगदान पुराएको भन्दै गिरीलाई वातावरण तथा सम्पदा संरक्षण सम्मानद्वारा सम्मान गरिएको बताइएको छ ।

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरन्जीवि शर्माले सम्मानपत्र, अभियानका संयोजक रामबहादुर पौडेले माला र नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।

गिरीलाई सम्मान गर्दै मुख्य न्यायाधिवक्ता चिरन्जीवि शर्माले कालीगण्डकी कुनै पनि बहानामा दोहन हुनु दुखद रहेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व गिरीले शालिग्राम पाउने एकमात्र र पाषाणकालिन सभ्यतासंग जोडिएको कालीगण्डकी नदी दोहन हुँदा पनि कोही कसैले रोक्न र आवाज उठाउन नसकेको बताउनुभयो ।