
बागलुङ । बागलुङमा पछिल्लो ८ महिनामा १ सय ७९ जनामा क्षयरोग लागेको पुष्टी भएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ६४ जना महिला र एक सय १४ जना पुरुष गरी एक सय ७९ जनालाई सङ्क्रमण पुष्टि भएको जिल्ला प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
बागलुङका १० पालिकामध्ये सबैभन्दा धेरै ढोरपाटन नगरपालिकामा क्षयरोगका बिरामी फेला परेका छन् ।
ढोरपाटन नगरपालिकामा ४३, बडिगाड गाउँपालिकामा ३८, गलकोट नगरपालिकामा २८, बागलुङ नगरपालिकामा २७, निसीखोला गाउँपालिकामा १४, जैमिनी नगरपालिकामा सात, ताराखोला गाउँपालिकामा चार, तमानखोला गाउँपालिकामा तीन, बरेङ गाउँपालिकामा चार र जैमिनी नगरपालिकामा सात जना क्षयरोगका बिरामी रहेको घिमिरेले जानकारी दिनुभयो ।
क्षयरोग परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । घिमिरेले गत वर्ष तीन सय १० जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।
बागलुङमा गत आर्थिक वर्षमा क्षयरोगका कारण १० जनाको मृत्यु भएको सिमेत बताउनुभयो । यस वर्ष मृतकको सङ्ख्या आर्थिक वर्ष समाप्तिपछि मात्र जानकारी हुने उहाँको भनाई छ ।
बागलुङमा निको हुने दर ९० दशमलव ४ प्रतिशत रहेको निरीक्षण घिमिरेले बताउनुभयो । उहाँले बागलुङको चार पालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष्यका साथ अभियान सुरु भएको बताए।
‘गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउने लक्ष राखिएको जानकारी दिनुभयो
धुम्रपान र मध्यपान गर्नेलाई सङ्क्रमण बढी हुने देखिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका निमित्त प्रमुख घनश्याम सापकोटाले बताउनुभयो ।
उहाँले कुपोषण भएका बालबालिका, ज्येष्ठ नागरिक, समूहमा बस्नेहरु समेतमा क्षयरोगको सङ्क्रमण बढी हुने बताए। बागलुङमा पछिल्लो समय क्षयरोगको परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि बढेको निमित्त प्रमुख सापकोटाले बताउनुभयो ।