
पर्वत जिल्लाको कुश्मा नगरपालिकाको सार्वजनिक जंगलमा आगो लगाउने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
२०८१ साल चैत ६ गते बेलुका करिब ५ बजे पर्वतको कुश्मा नगरपालिका–७ खहरिया स्थित भिरमा डढेलो लागेको सूचना पाएपछि प्रहरी निरीक्षक रामप्रसाद सापकोटाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो । उक्त टोलीले मानव बस्तीलाई सुरक्षित राख्दै आगलागी नियन्त्रणमा लिन सफल भएको थियो ।
त्यसै दिन बेलुका ६ बजे कुश्मा नगरपालिका–१० ज्ञादीस्थित मोदी खोला माथिको सार्वजनिक जंगलमा आगो लगाइरहेको अवस्थामा प्रहरी टोलीले कुश्मा–९ बस्ने १८ वर्षीय समिर थापा र १७ वर्षीय एक नाबालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबैजनालाई थप अनुसन्धानका लागि डिभिजन बन कार्यालय, कुश्मा पर्वत पठाइएको छ ।
पक्राउ परेकामध्ये एक जना १७ वर्षीय नाबालक रहेकाले निजको नाम, थर, फोटो तथा अन्य व्यक्तिगत विवरण गोप्य राख्न अनुरोध गरिएको छ । प्रहरीले बन तथा वातावरण सुरक्षाका लागि सबै नागरिकलाई सचेत रहन आग्रह गर्दै सार्वजनिक बन क्षेत्रमा आगलागी गर्ने कार्य आपराधिक हुने जनाएको छ । दोषी पाइएमा कानूनी कारबाही गरिने चेतावनी समेत दिएको छ ।