लेखानीलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन महायज्ञ

बागलुङ। काठेखोला गाउँपालिका वडा नं. ८ स्थित नर्मदेश्वर शिवालय मन्दिरमा ९ दिनसम्म श्रीमद् देवी भागवत महापुराण नवाह, ज्ञान महायज्ञ संचालन गरिने भएको छ । मन्दिर संरक्षण समिति र स्थानीयको अगुवाईमा चैत १७ देखि २५ गतेसम्म महायज्ञ गर्न लागिएको पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

महायज्ञबाट संकलन रकमले लेखानीलाई धार्मिक पर्यटनको गन्तव्य बनाउने, त्यसका लागि आवस्यक पूर्वाधार निर्माण गर्ने लक्ष्य पनि राखिएको छ । शुक्रबार भएको पत्रकार सम्मेलनमा महायज्ञ आयोजक समितिका संयोजक विष्णुप्रसाद कँडेलले महायज्ञले विश्व शान्तिको कामना गर्ने र १ सय ८ धारा निर्माण गर्ने लक्ष्य राखेको बताए । त्यस बाहेक पोखरीमा जटाधारी शिवको मुर्ति समेत बनाइने भएको हो ।

लेखानीस्थित नर्मदेश्वर शिवालयमा केही वर्षअघि १ सय ८ शिवलिंग स्थापना गरिसकिएको छ । उक्त स्थानमा १ सय ८ धारा बनाएर पानीको व्यवस्थापन गर्न महायज्ञ आयोजना गरिएको हो । महायज्ञ अवधिमा देशविदेशमा बसेका स्थानीयलाई भित्राउने पनि लक्ष्य छ ।

ब्रम्हलिन स्वामी परमानन्द सरस्वती महाराज र ज्ञानानन्द सरस्वतीको जन्मस्थल भएकोले देवघाटधाम आएका धार्मिक पर्यटक पनि यहाँ ल्याउने अभियान जोडिने बताइएको छ । हाल ज्ञानानन्द सरस्वतीको अगुवाइमा देवघाटस्थित हरिहर सन्यास आश्रम संचालनमा छ ।

नर्मदेश्वर शिवालय मन्दिर संरक्षण समितिका अध्यक्ष विष्णुप्रसाद कँडेलको अध्यक्षता, स्थानीय बलराम कंडेलको संचालनमा सम्पन्न पत्रकार सम्मेलनमा समितिका सदस्य सचिव खिमानन्द कंडेल, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कँडेल लगायतले लेखानीमा भएका अन्य क्षेत्रको प्रचार प्रसारका लागि पनि यो महायज्ञ फलदायी हुने बताए ।

महायज्ञमा १ करोड संकलन गर्ने र २५ लाख खर्च हुने अनुमान छ । बाँकी रकमले धारा, पानी ट्याङकी लगाएतका संरचना बनाइने बताइएको छ । लेखानीमा रहेका गुम्बा, मठमन्दिरले पर्यटक आर्कषण गर्ने उनीहरुको भनाइ छ । मध्यपहाडी लोकमार्गको विकल्पको सडक बनाउन पनि पहल गर्ने र त्यसबाट पर्यटक भित्राउने स्थनीयको लक्ष्य छ ।