
बागलुङ । बागलुङ बजारमा पाठेघरको जाँच सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ। बागलुङ नगरपालिका- शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको आयोजना र बागलुङ नगरपालिका-२ को समन्वयमा विहीबार शिविर आयोजना गरिएको हो।
शिविरमा महिलाको पाठेघर सम्बन्धी समस्याको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको वडा अध्यक्ष सुरज बोसेलले बताउनुभयो । शिविरबाट १४४ जना महिलाले सेवा लिएका थिए ।
कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउने, सुत्केरी अवस्थामा आरामको कमी, बढी तौलको भारी बोक्ने र महिलाहरुमा प्रजनन् स्वास्थ्य प्रति चेतनाको कमीका कारण पाठेघरमा संक्रमण भएर क्यान्सर हुने जोखिम हुने बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो ।
शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच, स्त्री रोग सम्बन्धी सेवा, प्रजनन् स्वास्थ्य , यौनजन्य सङ्क्रमणको उपचार, परिवार नियोजनका साधनहरुको बारेमा जानकारी दिइएको बागलुृङ नगरपालिका – २ शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रकी अहेव शकुन्तला थापा बोसेलले जानकारी दिइन् ।
कार्यक्रममा बागलुृङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, वडा अध्यक्ष सुरज बोसेल, स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले मन्तन्व्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन बागलुङ नगरपालिका-२ का वडा सचिव हिमाल प्रसाद पौडेलले गर्नु भएको थियो ।
वडा कार्यालयको आयोजनमा विभिन्न रोगको नियमित स्वास्थ्य परीक्षण र जाँच शिविर राख्न लागेको बागलुङ नगरपालिका(२ का वडा सदस्य विदेश कुमार श्रेष्ठले बताउनुभयो ।