
बागलुङ। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु भएको छ । परिक्षामाा सहभागी विद्यार्थीहरुले पहिलो दिन अनिवार्य अग्रेजी विषयको परिक्षा दिएका छन् ।
बागलुङमा पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले बताउनुभयो । जिल्ला भर गरि निर्धारण गरिएका ३१ परीक्ष केन्द्रबाट विद्यार्थीले परीक्षा दिएको उहाँले जानकारी दिनुभयो ।
परीक्षा फारमका अनुसार जिल्लाका १ सय ४६ विद्यालयका ४ हजार ९ सय ९० जना विद्यार्थी परीक्षामा सहभागी हुने अर्यालले बताउनुभयो । नियमित साधारण तर्फ ३ हजार ७ सय ९८ जना र नियमित प्राविधिक तर्फ २ सय ४७ जना विद्यार्थीले परीक्षामा सहभागीता जनाउने प्रमुख अर्यालले जानकारी दिनुभयो ।
उहाँले ग्रेडवृद्धि साधारणतर्फ ८ सय ८१, ग्रेडवृद्धि प्राविधिक तर्फ १९ र पुरानो ग्रेडवृद्धि (२०७८/०७९) तर्फ ४५ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेको बताउनुभयो । बागलुङमा १० वटा विद्यालयले प्राविधिक धारको परीक्षा पनि दिनेछन् ।
पशु विज्ञानतर्फ ३, बाली विज्ञानतर्फ ३, सिभिल इन्जिनियरतर्फ २ र कम्प्युटर इन्जिनियरतर्फ २ वटा विद्यालयले परीक्षा दिन लागेका हुन् । यस वर्ष अपांगता भएकातर्फ धौलागिरि बहिरा माविबाट १५ जना बहिरा विद्यार्थीले र बलेवा स्थित जनता–धन माविबाट ३ जना दृष्टीविहिन विद्यार्थीले पनि परीक्षा दिन लागेको उहाँले बताउनुभयो ।
यस्तै संस्कृततर्फ २ जना बटुकले पनि परीक्षामा सहभागिता जनाएको प्रमुख अर्यालले बताउनुभयो । खुला विद्यालयतर्फ विद्यामन्दिर माविबाट २३ नियमित, ग्रेड वृद्दि १२ जना गरी ३५ जनाले परीक्षा दिन लागेको उहाँले जानकारी दिनुभयो । दोस्रो दिन चैत ८ गते नेपाली विषयको परीक्षा रहेको उहाँले बताउनुभयो ।