पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचन चैत १० मा

बागलुङ । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्थगन भएको स्ववियु निर्वाचन चैत १० गते हुने भएको छ। मंगलबार मतपत्र छपाईंमा त्रुटि भएपछि मतदान स्थगन भएको थियो। आइतबार विहान ८ बजेदेखि मतदान सुरु हुने स्ववीयु निर्वाचन समितिका अधिकृत प्राध्यापक डा. रामचन्द्र पोखरेलले बताए ।

निर्वाचन समितिको गम्भीर लापरवाहीले मतपत्र त्रुटि भएको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले विरोध गर्दा निर्वाचन हुन सकेन। पछि बुधबारलाई निर्वाचन समितिले मतदान हुने भनेपनि संयुक्त प्यानलसहित अखिल (छैठौं) र नयाँ शक्ति विद्यार्थी युनियनले तालाबन्दी गरेको कारणले स्थगित गरेको समितिले जनाएको थियो ।

निर्वाचन समितिले मतपत्रमा अखिल छैठौंको तर्फबाट सभापतिको उम्मेदवार बनेका मिलन सुनारलाई मतदान गर्नलाई कोष्ट नराखेपछि पिएनको स्ववियु निर्वाचनमा विवाद सिर्जना भएको हो ।

पृथ्वीनारायण क्याम्पसमा नौ हजार २७० मतदाता रहेका छन्। स्ववियु सभापति पदका लागि ८ जना चुनावी मैदानमा उत्रिएका छन्। सभापतिका लागि नेविसंघबाट सुशील न्यौपाने, अनेरास्ववियुबाट विष्णु पोखरेल, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य)को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार हुन् ।

अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङले स्ववीयु सभापतिमा उम्मेदवारी दिएका छन् ।

स्ववियु सभापतिका लागि कमल सुवेदी र विप्लवी न्यौपानेले स्वतन्त्र उम्मेदवारी दिएका छन्। सचिवमा ५ जना, कोषाध्यक्षमा ५ जना र ४० जना सदस्य पदका उम्मेदवार छन्। समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवार पनि चुनावी मैदानमा होमिएर प्रतिस्पर्धा गर्दै छन् ।

दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय स्ववियु समिति निर्वाचित हुनेछन्। सभापति, सचिव र कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् ।