पर्यटन प्रवर्धनमा टेवा पु-याउने उद्देश्यले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग र म्याग्दी र पर्वतका केही गाउँहरू समावेश गरेर बनाइएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्सा सार्वजनिक गरिएको छ ।
संविधानसभाका सदस्य गोविन्द पौडेल, पूर्व सांसद भुपेन्द्र थापा, एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बरुवाल, एक्याप धान्द्रुकका प्रमुख भिम उपाध्याय र उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले नक्सा सार्वजनिक गर्नुभएको हो ।
जिल्लाको पर्यटन विकासमा सघाउने उद्देश्यले चन्दा सहयोग संकलन गरेर प्राप्त भएको ६ लाख रुपियाँ खर्चिएर मौरिस हर्जोग ट्रेल र अन्नपूर्ण–धौलागिरि सामुदायिक ट्रेकको नक्सा तयार पारिएको पर्यटनकर्मी चित्र तिलिजाले बताउनुभयो ।
पर्यटन विकासमा टेवा पुग्ने उद्देश्यले चन्दा सहयोग जुटाएर नक्सा तयार पारिएको हो । नक्सा तयार पर्न होटल व्यावसायी र विदेशमा रहेका म्याग्देलीले सहयोग गरेका थिए । करिब एक करोड २५ लाख लगानीमा पदमार्गमा पूर्वाधार निर्माण थालिएको छ ।
पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मौरिस हर्जोग पदमार्गका बारेमा नक्सा तयार पारिएको पदमार्गका अभियान्ता तेज गुरुङले बताउनुभयो ।
मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको पर्यटन प्रवर्धन, प्रचार–प्रसार र पूर्वाधार निर्माणमा गाउँपालिका जुटेको बताउँदै पालिका अध्यक्ष भारतकुमार पुनले नक्साले पर्यटन प्रवर्धन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

धौलागिरी टेलिभिजन 










