images
images

शिक्षा मार्फत निराशा र पलायन रोक्नु पर्छ : मन्त्री गुरुङ

बागलुङ, गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले शिक्षा मार्फत बसाईसराई र निराशालाई चिर्नुपर्ने बताएका छन् ।

जैमिनी नगरपालिका–७ जैदीमा रहेको सतिढुङ्गा माध्यामिक विद्यालयको स्वर्ण जयन्तीको अवसरमा आयोजित मुल समारोहमा मंगलबार बोल्दै गुरुङले यस्तो बताएका हुन् ।

‘पछिल्लो समय समाजमा चरम निराशा बढ्दो छ र बसाईसराइले गाउँहरु रित्तिदै गएका छन् ।’ उनले भने–‘यो अवस्थालाई रोक्नकोलागि शिक्षाले महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।’ उनले त्यसकोलागि सरकार सक्रिए भएर लागेको बताए ।

उनले सतिढुङ्गा माध्यामिक विद्यालय लगायत गण्डकी प्रदेशका विद्यालयको भौतिक तथा शैक्षिक विकासकोलागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा गुरुङलाई जैदीमा उत्पादित स्थानीय घिऊ मायाको चिनो स्वरुप दिइएको थियो ।

स्थानीय उत्पादनको प्रबर्धन गर्ने उद्धेश्यले जैमिनीमा हुने विभिन्न कार्यक्रमका प्रमुख अतिथि र अतिथिलाई मायाको चिनो स्वरुप स्थानीय उत्पादित सामाग्री दिइने गरिन्छ ।

जैमिनी नगरपालिका उपप्रमुख हरिहर शर्माले नगरपालिकाले विद्यालय र अभिभावक जोड्ने गरी नीति तथा कार्यक्रम गराएको बताउँदै त्यसले शैक्षिक सिकाई र गुणस्तरीय शिक्षाकोलागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्य, वडा न. ७ का वडा अध्यक्ष केन्द्र बहादुर सुनार, सतिढुङ्गा माध्यामिक विद्यालयका पूर्व प्रधनाध्यापक गोविन्द प्रसाद कँडेल, बरेङ गाउँपालिका शिक्षा शाखा प्रमुख दिपक चालिसे, जनकल्याण माध्यामिक विद्यालयका शिक्षक शालिकराम चालिसेले मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मीकान्त पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

स्वर्ण जयन्तीको अवसरमा आयोजित जैमिनी माध्यामिक विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता जनता मावि पैयुँमा अध्ययनरत कल्पना थापा प्रथम भएकी छिन् । राङखानी मावि राङखानीकी प्रशंसा थापा द्धितीय र जन कल्याण माविका करिना नायक तृतीय भएका छन् ।

प्रतियोगितामा १५ जना प्रतियोगिको सहभागिता रहेको नृत्य प्रतियोगिताको निर्णायक संयोजक मन बहादुर रानाले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दिपक चालिसे र कमला शर्माले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक दामोदर शर्मा र विद्यार्थी संस्कृती नेपालीले गरेका थिए ।