बागलुङ, वसन्तजंग राजभण्डारी निगालोमा चित्र कोर्न व्यस्त छन् । बागलुङ नगरपालिका–३का ५८ बर्षीय राजभण्डारीको खास परिचय नै बुटेनली (निगालोमा चित्र कोर्ने) बनाउने व्यक्तिको रुपमा परिचित छ ।
केही समय अघि बागलुङलाई सानो नेपाल भित्रको नेपाल, झोलुङ्गे पुलको जिल्ला र बुटेनली पाइने जिल्लाको रुपमा परिचित थियो । त्यो बुटेनलीको जिल्ला भनेर निरन्तर परिचित गराउने खास व्यक्ति हुन राजभण्डारी ।
बुटेनली करिब २ सय बर्षअघि गुल्मीबाट आएका एक व्यक्तिले बागलुङमा स्थापित गरेका हुन् ।
निगालोमा फूलबुट्टा बनाएर बेच्दै गर्दा यो बागलुङको पहिचानको रुपमा स्थापित भएको थियो ।
त्यहि पहिचानलाई राजभण्डारीले विगत ३४ बर्षदेखि निरन्तरता दिँदै आएका छन् ।
निगालोमा विभिन्न एतिहाँसिक व्यक्ति, पशुपंक्षी, चराचुरुङ्गीदेखि प्रकृतिका सुन्दर आकृति कोर्ने उनी आफुलाई चित्रकारको रुपमा परिचित हुन पाउँदा खुसी छन् ।
निगालोमा कोरेका चित्र देखाउँदै उनी भन्छन्–‘यसलाई बनाउन निकै महेनत गर्नु पर्छ, एउटा निगालोमा चित्र कोर्न झण्डै एक हप्तासम्म लाग्छ ।’
उनले निगालोमा पृथ्वीनारायण शाहदेखि राजा महेन्द्र, विरेन्द्र, ज्ञानेन्द्र, बुद्ध, सिता, भृकुटी, भिमसेन थापा लगायतको दुरुस्त चित्र उतारेका छन् । तिसँगै मयुर, डाँफे, विभिन्न बोटविरुवाका दुरुस्त चित्र उतारेका छन् ।
‘मलाई चित्रकारको रुपमा धेरै मान्छेले चिन्दछन्, मलाई यसैमा आनन्द लाग्छ ।’ उनी भन्छन्–‘यहि नै मेरो खास परिचय हो ।’
उनले किशोरावस्थादेखिनै चित्रकलाप्रति आकर्षित थिए ।
‘मेरो रुची चित्रकलाप्रति थियो, त्यहि देखेर मलाई काजी रोशनले घरेलु कार्यालयले दिएको एउटा तालिममा जान भन्न भयो, मैले त्यहिँ तालिम लिएर यो सिप सिकेको हुँ ।’ उनी भन्छन्–‘त्यहि समयदेखि म यसैमा निरन्तर छु ।
तालिम लिने समयमा ८ जना भएपनि निरन्तर रुपमा बुटेनली बनाउनेमा आफु एक्लो जस्तै भएको उनको भनाई छ ।
‘धेरैले छोड्नु भयो, कोही कता जानु भयो, कोही कता जानु भयो ।’ उनले भने–‘मैले भने यो कहिल्यैपनि छोडिन, ३४ बर्षदेखि निरन्तर यहि काम गर्दै आएको छु ।’
बुटेनली माग अनुसार बनाउने र फुर्सदको समय सदपुयोग गर्दै बनाएर राख्नेपनि गरेका छन् ।
‘यहाँ खोज्दैपनि आउनु हुन्छ, पहिल्यै अर्डरपनि दिनुहुन्छ ।’ उनले भने–‘बनाएको सामान नबिक्ला भन्ने छैन, मायाको चिनोको रुपमा खोजीखोजी लैजान्छन् ।’ उनले बनाएको बुटेनली युरोप, अमेरिका र जापानसम्म पुगेको उनको भनाई छ ।
बीचको केही समय बुटेनली हराएजस्तो भएपनि पछिल्लो समय फेरी चर्चामा आएको उनको भनाई छ ।
‘बागलुङको ऐतिहाँसिक पहिचानको रुपमा रहेको बुटेनली बीचको समय चर्चामा आएन, तर फेरी चर्चामा आइरहेको छ ।’ खुसी हुँदै उनले भने–‘ऐतिहाँसिक बुटेनली मार्फत बागलुङलाई चिनाइराख्न पाएकोमा आनन्दीत छु ।’
जिल्लाको पहिचानको रुपमा रहेको बुटेनलीलाई दीर्घकालसम्म जोगाईराख्न नयाँ पुस्तालाई तालिम समेत दिदै आएका छन् ।
‘मैले विद्यार्थीहरुलाई सिकाइरहेको छु, केही विद्यार्थीहरुले सिकिसकेकापनि छन् ।’ उनले भने–‘अब विद्यार्थीलेपनि जोगाउँछन् जस्तो लाग्छ ।’ यसको दीर्घकालकोलागि स्थानीय सरकारलेपनि सहयोग गर्नु पर्ने उनको भनाई छ ।
आँखाले देख्दासम्म नै बुटेनली बनाउने उनको अठोट छ ।
उनले बुटेनली बनाएबापत विभिन्न पुरस्कारपनि आएका छन् ।
धौलागिरी बहिरा आवासीय माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापक समेत रहेको उनी निरन्तर शिक्षण पेशामा आबद्ध छन् ।
उनको परिवारमा श्रीमति मन्दिरा राजभण्डारी, भाई सुमन्त राजभण्डारी, छोराहरु प्रथम राजभण्डारी र बुद्धम राजभण्डारी छन् ।
परिवारको सहयोगकै कारण आफुले निरन्तर बुटेनली बनाउन पाएको उनको भनाई छ ।

दिलिप प्रतेल 










