images
images

इमेज सहकारी ठगीका अभियुक्त नेपालीसँग ५४७ जनाको मेलमिलाप

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितहरुले मेलमिलाप गरेका छन् ।

शुक्रवार पीडित मध्ये ५ सय ४७ जनाले विगोे दावी नगर्ने गरी मेलमिलाप गरेका हुन् ।

उनीहरुले नेपालीको घरायसी जायजेथाबाट पाउनु पर्ने रकम पाएको भन्दै मेलमिलाप गरिदिएका हुन् । उनीहरुको मेलमिलापकालागि जिल्ला अदालत बागलुङले आदेश दिएको थियो ।

ठगी मुद्दामा नेपालीलाई विपक्षी बनाएका जाहेरवाला मध्ये ५ सय ४७ जना बचतकर्ताले यो मेलमिलापपछि मुद्दा फिर्ता लिनेछन् ।

उनीहरुको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार ३ सय ४० रुपैयाँ बराबरको रकम घरसारमा मिलेर पाएको भन्दै मेलमिलाप गरेपछि मुद्दामा दावी गरिएको विगो रकम समेत घटेको छ ।

जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीको इजलासले आंशिक मेलमिलाप भएको आदेश दिएको हो ।

पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवर समेत ५ सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकोले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ ।

जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले यो मुद्दा नमूना भएको बताउनुभयो । नेपाली विरुद्दको ठगी मुद्दा भने यथावत रहनेछ ।

हाल नेपाली पुर्पक्षकालागि जिल्ला कारागारमा हुनुहुन्छ । गत असोज १५ गते जिल्ला अदालत बागलुङको आदेशले नेपालीलाई पुर्पक्षकालागि थुनामा पठाएको थियो ।

१ हजार ५ सय ७३ जनाले नेपाली सहित संचालक र कर्मचारी गरी १३ जना विरुद्द सहकारी ठगीको मुद्दा दिएका थिए । सहकारीको १ अर्ब ४५ करोड रुपैयँ हिनामिना गरेको आरोप अब २३ करोडले घट्नेछ ।