images
images

जैमिनीमा दुई बर्षमा सवारी इन्धन र मर्मत खर्च झण्डै २ करोड !

बागलुङको जैमिनी नगरपालिकाले गत दुई बर्षमा सवारी इन्धन र मर्मतमा मात्र १ करोड ९४ लाख १३ हजार ८०१ रुपैयाँ खर्च गरेको छ । आर्थिक बर्ष २०७९/८०मा इन्धन खर्च ४८ लाख ५७ हजार ७४९ खर्च भएको छ भने आर्थिक बर्ष २०८०/८१मा ४४ लाख ३२ हजार ४३९ रुपैयाँ खर्च गरिएको छ ।

सवारी मर्मतमा २०७९/८०मा ५६ लाख १५ हजार ७३२ खर्च गरिएको छ भने आर्थिक बर्ष २०८०/८१मा मात्र ४५ लाख ७ हजार ८८१ खर्च गरिएको छ । मर्मतमा आर्थिक बर्ष २०७९/८०मा ३४ लाख ९ हजार ७३० रुपैयाँ र आर्थिक बर्ष २०८०/८१मा ४४ लाख १४ हजार ११३ रुपैयाँ खर्च गरिएको छ । यी सबै गर्दा दुई बर्षमा १ करोड ९४ लाख १३ हजार ८०१ रुपैयाँ खर्च गरिएको हो ।

यो अबिधिमा सबैभन्दा बढि इन्धन उपप्रमुख हरिहर शर्माले प्रयोग गरेका छन् । उनले अहिले प्रयोग गर्ने बिएए १५११ र पहिले प्रयोग गरेको ग १ झ ३२२ गम्बरको गाडीकोलागि ६ हजार ३९३ लिटर इन्धन खर्च गरिएको छ । उनी पार्टीको कार्यक्रम, क्लवका सानातिना कार्यक्रमदेखि, विवाह ब्रतबन्ध, भोजभतेरसम्म सरकारी गाडीकै प्रयोग गर्ने गरेको बताइन्छ ।

नगर प्रमुख नर बहादुर पुनले प्रयोग गर्ने ग १ झ ४३१ नम्बरको गाडीमा ४ हजार ९९८ लिटर इन्धन खर्च भएको छ । बाहिरी कार्यक्रममा खासै नदेखिने र घर जाँदा समेत मोटर साइकल खोजेर हिँड्ने नगर प्रमुख पुनले प्रयोग गर्ने गाडी अन्य कर्मचारीले समेत प्रयोग गर्ने गरेको बताइन्छ ।
त्यस बाहेक कार्यालयको कामकोलागि प्रयोग हुने ग १ झ ३२२ नम्बरको गाडीमा दुई बर्षमा ३ हजार ८८५ लि. इन्धन प्रयोग गरिएको छ ।

कर्मचारीकोलागि ६ हजार लि.वडा अध्यक्षहरुले ३ हजार २४० लि. र डोजरमा २३ हजार ७२७ लि. इन्धन प्रयोग गरिएको छ ।