images
images

आस्था बचत तथा ऋण सहकारीको १३ औँ साधारण सभा सम्पन्न

बागलुङ, आस्था बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीबार बागलुङ बजारमा बागलुङ जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष चण्डी प्रसाद शर्माको प्रमुख आथिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सहकारीमा आवद्ध सबै शेयर सदस्यहरुलाई सहकारीको आर्थिक सहभागितमा जोड्न र उहाँहरुको आर्थिक तथा सामाजिक जीवनमा परिर्वतनका लागि केन्द्रीत हुन जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्माले बताउनु भयो ।

आस्था सहकारीको आर्थिक अवस्था निकै नै दरिलो भएकोले यसलाई अझ बलियो बनाउन सबै शेयर सदस्यहरुले यसै सहकारीमा कारोबार गर्न शर्माले आव्हान गर्नु भयो ।

हामीले हाम्रो शेयर सदस्यहरुलाई सूचना प्रविधिसँग जोड्ेर अत्याधुनिक प्रभावकारी सेवा दिन लागेका छौं । शेयर सदस्यको दिगो आर्थिक विकास र उहाँहरुको शसक्तिकरणमा आस्था सहकारी सधै क्रियाशील हुने सहकारीका अध्यक्ष श्रीजय श्रेष्ठले बताउनु भयो।

कार्यक्रममा आस्था सहकारीका सल्लाहकार श्याम श्रेष्ठ, बागलुङ जेसीजका अध्यक्ष सुशान्त श्रेष्ठ, नयाँ विश्वका सम्पादक मुकेशचन्द्र राजभण्डारी, प्रगति बहुउद्देश्यीय सहकारीका अध्यक्ष कुमार पौडेल, बागलुङ जिल्ला वचत तथा ऋण सहकारी संघ लिमिटेडका सचिव तेज प्रसाद शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभामा सचिव निलेश राजभण्डारीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जय राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको थियो ।कार्यक्रममा उत्कृष्ठ कारोबार गर्ने शेयर सदस्यहरु लिलाम्बर बज्राचार्य, राजेश भारी, रमेश प्रताप महत, गिता राजभण्डारी श्रेष्ठ, सृजना कुमारी शर्मा, पुष्पा खड्का केसीलाई सम्मान गरिएको थियो ।

साथै बाल बचत गर्ने प्रिन्सा श्रेष्ठ र कर्मचारी सिता क्षेत्रीलाई पुरस्कृति गरिएको थियो । कार्यक्रम नेपाल परिवार नियोजन संघको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित निर्माण कुमार श्रेष्ठ, नेपाल जेसीजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा निर्वाचित सौरभ श्रेष्ठ, डा अनिमेश राजभण्डारी र एन्जिल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रम आस्था बचत तथा ऋण सहकारीका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष जय राजभण्डारीको स्वागत र सचिव निलेश राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

विसं २०६८ साल जेठ एक गतेदेखि सञ्चालनमा आएको आस्था बचत तथा ऋण सहकारीको शेयर पुँजी दुई करोड १७ लाख २२ हजार र शेयर सदस्य संख्या दुई सय ८१ जना पुगेको छ । सहकारीको बचत रकम १५ करोड ६४ लाख र कर्जा लगानी १६ करोड ५७ लाख रहेको छ । सहकारीले ७ जना युवाहरुलाई रोजगारी पनि दिएको छ ।