images
images

बागलुङ नगरपालिकास्तरीय सार्वजनिक सुनुवाई कालिमाटीमा, सडक, खानेपानी र सुशासनमा जनचासो

बागलुङ, बागलुङ नगरपालिका–७ कालिमाटीमा बागलुङ नगरपालिका स्तरीय पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङ नगरपालिकाको सेवा प्रवाह, योजना तथा कार्यक्रम कार्यान्वयनका सन्दर्भमा आयोजित आर्थिक वर्ष २०८०,८१ पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

स्थानीय पालिकाको सुशासन, पारदर्शीता र जवाफदेहिताका लागि बागलुङ नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ बागलुङको सहजिकरणमा सार्वजनिक सुनुवाईका कार्यक्रम आयोजना गरिएको छ ।

कालिमाटीमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा अधिकांश नागरिकले सडक, खानेपानी, कृषि जस्ता पूर्वाधार केन्द्रित प्रश्न राख्नुभएको थियो । उनीहरुले सेवा प्रवाह राम्रो भएपनि विकासमा सहजिकरण नभएको बताउनुभयो ।

निर्माणधीम विश्व बैंकको सडक समयमै सकिए यहाँको विकासको ढोका खोलिने बताएका छन् ।

सार्वजनिक सुनुवाईमा पहिलो चौमासिकसम्म सम्पन्न भएको योजना, कार्यप्रगतिको विषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद खानालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बसाइँसराइले गाउँ रित्तिदै गएले चितुवा आतंक बढेको, गोरेटो बाटो समेत नभएको, खानेपानीको ट्याङ्की अलपत्र परेको वडा सदस्यहरु वडा कार्यालय नआएको, दलितले उत्पादन गरेको दूध र घ्यु विक्री नभएको, द्वन्द्वपीडितलाई नहेरेको, निर्माणधीन सडकको धुलोले आजित बनाएको बताएका थिए ।

बालमैत्री नगरपालिका घोषणा छिटो भएको, भालुमारे डाँडास्वारा सडक ओझेलमा परेको, विश्व बैंकको सडकको काम भएपनि धुलोले सास्ती बनाएको, योजना आउदा थाहै नपाएको, अनुदान नपाएको, उपभोक्ता समिति बनाउने नागरिक नपाएको, योजना घाटामा पुगेको, बाटुलेमा मोटरबाटो नबनेको र असली किुसानलाई कार्यक्रम नआएको गुनासो गरेका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नरबहादुर कार्की, जयराम आचार्य, श्याम विक, शशिधर गौतम, महेन्द्र विक, प्रकृति पौडेल, युगेन्द्र खनाल, महेन्द्र विक, गणपती कँडेल, सिता केसी, मिना केसी, गोविन्द उपाध्यया, ओमराज शर्मा, नारायण केसी र अनु कार्की लगायतले नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायतका विषयमा प्रश्न, गुनासो र सुझाव राखेका थिए ।

उनीहरुले मुलपानी कालीमाटी सडक तिब्रगतिमा कालोपत्रका लागि पूर्वाधार निर्माण भएको सकरात्मक भएको बताएका छन् ।

कार्यक्रममा जनताको गुनासो, चासो तथा सुझावहरुका विषयमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष मेघनाथ गैरेले जवाफ दिनुभएको थियो ।

जनताको प्रश्नको जवाफ दिँदै नगरप्रमुख श्रेष्ठले नगरपालिकाले गरेका काम कारबाहीका बारेमा जानकारी दिन, नागरिकको गुनासो र सुझाव लिनका लागि सार्वजनिक सुनुवाई गरेको बताउनुभयो ।

जनताको प्रश्न र गुनासो लिन वडा तहमै आएको बताउनुभयो । उहाँले सडक यहाँको विकासको मुख्य प्राथमिकतामा परेको बताउदै नगरकै सबैभन्दा ठूलो योजना कालिमाटीमै रहेको जानकारी दिनुभयो । उहाँले नागरिकहरुले सकरात्मक हिसावले सोच्दै पालिकालाई सुझाव दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा जनताका हरेक समस्यालाई आफूहरुले नजिकबाट बुझ्ने र सल्लाह सुझाव अनुसार आगामी दिनमा काम गर्ने बताउनुभयो । नगरपालिकाप्रति उठेका प्रश्नले नगरपालिकालाई कामप्रति थप जिम्मेवार बनाउने प्रमुख श्रेष्ठको भनाइ छ । उहाँले कर्मचारी र जनप्रतिनिधिले कार्यसम्पादनलाई बढाउदै लगेको बताउनुभयो ।

उहाँले सडक कालोपत्रपछि खानेपानी लगायतका अन्य योजनामा बजेट पठाउने बताउनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले टिप्पणी गर्नुभएको थियो भने उपाध्यक्ष सुवास आचार्यले नागरिक सर्वेक्षण सन्तुष्टि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यकमको आचार संहिता पत्रकार डम्मर बुढाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, वडा अध्यक्ष मेघनाथ गैरेको स्वागत तथा पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालको सहजिकरणमा सम्पन्न भएको थियो ।