images
images

३ सय बर्ष पुरानो घर संरक्षणमा लागिपरेका गिरी

खिरिलो शरीर, झुस्स दारी, तेजिला आँखा, शीरमा चुच्चे टोपी पहिरिएर शताब्दी घरको पिँडिमा बसिरहेका छन् आरके अदिप्त गिरी । उनको अनुहारमा प्रष्टसँग झल्किन्छ देश, समाज, कला, संस्कृति, प्रकृति र पर्यावरण प्रतिको चिन्ता ।

आफु हुर्के बढेको ठाउँ प्रतिको अगाध मायाकै कारण उनले लामो समयको काठमाण्डौ बसाई अन्त्य गर्दै फर्किए कुश्मा र लागिरहेका छन् शताब्दी घर संरक्षणमा । २०७८सालमा कुश्मा फर्किएर कुश्मा कला परियोजना मार्फत उनी शताब्दी घर संरक्षणमा लागिपरेका छन् ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–६ माझगाउँमा रहेको झण्डै तीन सय बर्ष पुरानो घर संरक्षणमा लाग्नुको मुख्य कारण हो मौलिकता जोगाउनु ।

‘हाम्रा शहरहरु कंक्रिटका जंगल बनेका छन्, कंक्रिटका जंगल भरिदै जाँदा हाम्रा मौलिकताहरु हराइरहेका छन् ।’ उनले भने–‘हाम्रौ मौलिकता जोगाउनकोलागि म कुश्मा फर्किएको हुँ ।’

कंक्रिटले भरिएको जंगलले शहर र विकास नहुने उनको बुझाई छ ।

‘पछिल्लो समय देखासिकिले गर्दा हाम्रा मौलिक कला, संस्कृति र परम्पराहरु हराइसकेका छन् ।’ उनले भने–‘ति संस्कृति र परम्पराहरु नयाँ पुस्ताले थाहा पाउन भन्नकोलागिपनि ३०० बर्ष पुरानो घर संरक्षणमा लागिरहेको छु ।’

शहर बन्न, कला संस्कृति र सभ्यता बाँच्नु पर्ने उनको बुझाई छ । कला संस्कृति र सभ्यता नभएको शहर आत्म बिनाको शरीर जस्तो हुने उनको भनाई छ । उनले खराब विकास गर्नुलाई प्रकृतिमाथीको अत्याचार भएको बताउँछन् ।

उनले शताब्दी घरलाई मौलिक रुपले नै संरक्षण गरिने बताए । शताब्दी घरमा नेपाली समाजले दैनिक रुपमा प्रयोग गर्ने परम्परागत भाँडाकुडाहरु ठेकी, डाली, छुर्मी लगायतका सामाग्रीहरु राखिनेछ ।

‘यहा नेपाली समाजमा प्रयोग भएका तर पछिल्लो समय हराउँदै गएका सामाग्री, बाजागाजा, भेषभुषाको संरक्षण गरिनेछ ।’ उनले भने–‘यसले नेपाली समाजको मौलिकता बुझ्न सघाउने छ ।’

उनले कुश्मालाई आर्ट भ्यालीको रुपमा विकास गर्न चाहेको बताए ।

‘कुश्माले आङ तन्काएको छ, चित्रमय भूगोल छ, यसैबाट म आकर्षित भएर कुश्मा फर्किएको हुँ ।’ उनले भने–‘सबैको जोडबलले नै समाज राम्रो हुने हो, म त्यहि राम्रो गर्ने प्रयत्नमा खटिएको छु ।’

यहाँ कला, साहित्य र संस्कृतिको अनुसन्धान गर्ने केन्द्रको रुपमा समेत विकास गरिनेछ । शताब्दी घरमा लाइब्रेरी, कुश्माको बारेमा संवाद गर्ने थलो, कुश्माको आकर्षक पर्यटकीय गन्तव्यहरुको तस्वीर राखिने छ । त्यहाँ मिनी नाट्यशाला समेत निर्माण गरिनेछ ।

समाज सतही नयाँपनको खोजिमा हिँड्दा पुराना सबै बिर्सदै गएकोमा उनी चिन्तित छन् ।

‘नयाँपनको खोजीमा पुराना हाम्रा मौलिक वस्तुहरु बिर्सिएको छ ।’ उनले भने–‘पुरानाहरु नै नयाँ हुन, त्यसैले पुराना वस्तुहरुको संरक्षण गर्नु पर्दछ ।’

यो अभियान घर बचाउँ, गाउँ बचाउँ अभियानपनि हो ।

‘वैदेशिक रोजगारका कारण गाउँहरु रित्तिदै गएका छन्, त्यसले गाउँ बस्तीमात्र रित्तिएका छैनन, हाम्रा मौलिक संस्कृति, परम्परा र रीतिरिवाजहरुपनि रित्तिएका छन् ।’ उनले भने–‘त्यसैले यो घर बचाउँ, गाउँ बचाउँ अभियानपनि हो ।’ शताब्दी घर सिङ्गो लोक परिवेशमय बन्नेछ ।

शताब्दी घरमा रैथाने खाना, कफी सप, स्थानीय कला र संस्कृतिको प्रदर्शनी समेत गरिनेछ । यसले कुश्मालाई कला र संस्कृतिमा धनि कुश्मालाई पुनरागमन गराउने विश्वास छ ।

शताब्दी घर संरक्षणकोलागि गिरीले २ करोड रुपैयाँ खर्चि सकेका छन् । शताब्दी घरमा फलामे किल्ला समेत प्रयोग नगरी संरक्षण गरिएको छ ।

कुश्मा राम गिरीले १२ बर्षदेखि छोडेको घर गिरीले संरक्षण थालेका हुन् । राम गिरीका जिजु हजुरबा धनराज गिरी त्यस ठाउँमा आउँदा राम्रो लागेर लोभिएपछि त्यहीँ बसेको बताइन्छ । गिरीका १० पुस्ताले त्यही घरमा बिताएको बताइन्छ ।

गिरी शताब्दी घर संरक्षणसँगै कालीगण्डकी बचाऊ अभियानमा निरन्तर लागिरहेका छन् । कालीगण्डकी नदी मानव सभ्यतासँग जोडिएकोले नदीजन्य पदार्थको उत्खनन्सँगै चोरी, निकासी नियन्त्रण गर्नु पर्ने अभियानमा छन् ।