आफ्नो विगत सम्झिदै थापा भन्छन्–‘गाउँमा कृषि गर्ने त्यस्तो उपयुक्त ठाउँ देखिएन, रुची भने कृषि गर्ने थियो, त्यहि कारण गाउँ छोडेर कुश्मीसेरा आएँ, त्यस ठाउँपनि छोडेर बागलुङ बजार आएँ ।’ २०५७ सालदेखि निरन्तर कृषि कर्ममा तल्लीन थापाले बागलुङ नगरपालिका–३मा राहुल कृषि विकास फर्म सञ्चालनमा ल्याएका छन् ।
थापाले अहिले व्यक्तिगत रुपमा ४० रोपनी जग्गामा कृषि गर्दै आएका छन् भने सामुहिक रुपमा १०० रोपनी जग्गामा कृषि गर्दै आएका छन् ।
‘मैले व्यक्तिगत रुपमा ४० रोपनी जग्गामा कृषि गर्दै आएको छु र हामी १९ जनाले सामुहिक लगानीमा १०० रोपनी जग्गामा किबी खेति सुरु गरेका छौँ ।’
उनले बागलुङ नगरपालिका–३मा केरा खेती, नर्सरी, तरकारी खेति, च्याऊ उत्पादन गर्दै आएका छन् । म्याग्दीको मालिकामा सामुहिक रुपमा किबि खेति र नर्सरी सञ्चालनमा ल्याएका छन् । त्यस फर्ममा विदेशमा बस्ने नेपालीहरुको संयुक्त लगानी छ ।
आफुहरुले उत्पादन गरेको कृषि सामाग्री बागलुङ बजारमै बिक्रि हुने गरेको उनको भनाई छ ।
‘उत्पादित कृषि सामाग्रीले बजार नपाउला भन्ने अवस्था छैन, सबै उत्पादन बागलुङ बजारमा नै खपत हुन्छ ।’ उनी भन्छन्–‘बरु माग अनुसार पुर्याउन कठिन हुन्छ ।’
मौषम अनुसारको तरकारी, च्याऊ, विभिन्न बिरुवा बेचेर उनले महिनामा डेढलाख रुपैयाँ भन्दा बढिको कारोबार गरिने बताए । थापाले आफ्नो कृषि फर्मद्वारा उत्पादिन सामाग्री बिक्रिकोलागि बागलुङ बजारमा संकलन केन्द्र समेत सञ्चालनमा ल्याएका छन् ।
त्यसबाट राम्रो आम्दानी भएको उनको भनाई छ ।
‘सबै कारोबारलाई हिसाब गर्यौँ भने वर्षमा २० लाख भन्दा बढि हुँदो रहेछ ।’ उनले भने–‘हालसम्म घर खर्च कटाएर, छोराछोरी पढाउँदै घर र केही जग्गा जोडेको छु ।’ उनले हाल आफ््नो फर्ममा करिब ४० लाख रुपैयाँको लगानी रहेको बताए । सामुहिक गरेको किबी खेतिमा डेढ करोड रुपैयाँ बढि लगानी रहेको छ ।
यो अवस्थामा आइपुग्न आफुले कैयौँ पटक असफलता भोगेको उनको अनुभव छ ।
‘सुरुको १० बर्षजतिको समय चुनौतिपूर्ण नै भयो, प्राबिधिक ज्ञान नहुँदा आफुले उत्पादन गरेको सामाग्री बिक्रि भएन र टनेलमै कुहियोपनि ।’ उनले भने–‘अहिले त्यो समस्या छैन, बोट बिरुवाको बोली बुझ्ने भएको छु ।’
पटक–पटकका असपलताबाट पाठ सिकेर निरन्तर अघि बढेका थापाले राम्रो उत्पादन हुँदा आफुलाई आनन्द लाग्ने बताए ।
‘कुनैपनि तरकारी राम्रो फल्यो भने सबैभन्दा आनन्द लाग्छ ।’ उनले भने–‘अनि पुरस्कार थाप्दापनि म ठिक पेशामानै लागेको रहेछु भन्ने लाग्छ ।’
विदेश जाने र जागिर गर्ने प्रति रुची नभएको उनको भनाई छ ।
‘मलाई अर्काको देशमा जान कहिल्यै रुची लागेन, जागिर खान पनि चाकडी गर्नु पर्ने त्यति रुची लागेन ।’ उनले भने–‘त्यहि कारणपनि जागिर गर्ने र विदेश जाने कहिल्यै रुची लागेन ।’
नेपालमा केहीपनि छैन, हँुदैन भन्दै देश छोड्नेहरुलाई नेपालमापनि राम्रो अवसर सृजना भएको उनको भनाई छ ।
‘अहिलेको समयमा विदेश नै नजानुस त भन्न सकिदैन, तर प्रशस्त सम्भावनाहरु नेपालमै छन् ।’ उनले भने–‘नेपालमा पर्यटन, कृषि जुन क्षेत्रमापनि सम्भावना छ, सधैँ विदेश बस्ने सोँच नबनाउनुस, विदेशमा कमाएको पैसा नेपालमा लगानी गर्ने सोँच बनाउनुस ।’
नेपालमै केही गर्न सकिन्छ भन्ने आफु जिउँदो प्रमाण भएको बताउँदै उनले सिप र जाँगर भएकालाई नेपाल उर्वर भूमि भएको बताए ।
नेपालमा राम्रो उत्पादनकोलागि अनुदानलाई व्यवस्थित गरिनु पर्ने, कृषि प्रणालीलाई यान्त्रीकरण गरिनु पर्ने र बजारलाई थप व्यवस्थित गराउन सके कोहीपनि विदेश जान नपर्ने उनको भनाई छ ।
उनले आगामी दिनमा दीर्घकालीन आम्दानी दिनेगरी थप ५० रोपनी जग्गाको व्यवस्थापन गरी कृषि गर्ने बताए ।
‘विस्तारै उमेर ढल्किैदै गएको छ, त्यसैले पेन्सनको रुपमा दीर्घकालीन रुपमा आम्दानी दिने कृषि गर्ने योजना बनाइरहेको छु ।’ उनले भने–‘थप ५० रोपनी जग्गा भाडामा खोजेर दीर्घकालीन आम्दानी हुने कृषि गर्ने हो ।’
उनको फर्ममा ३ जनाले मासिक तलब बुझ्ने गरी कर्मचारी राखेका छन् भने आवश्यकता अनुसार मौषमी कर्मचारीपनि राख्ने गरेका छन् । उनको कृषि फर्ममा निरुन्तर रुपमा श्रीमति लक्ष्मी पुन थापाले साथ दिदै आएकी छिन् ।