बागलुङ। राज्यको योजनाको ठेक्कापछि भुक्तानी नहुने क्रम बढेको छ । कतिपय सडक योजनादेखि नगर अस्पताल सम्मका योजना भुक्तानी समस्याले अलपत्र परेका हुन् । ती मध्येको एक हो निसीखोला गाउँपालिकाको निर्माणाधीन अस्पताल ।
यो अस्पताल पनि बजेट अभावले अलपत्र छ । वडा नं. ३ र ४ को सिमाना नजिकै निर्माणाधिन अस्पतालको भुक्तानी दिन नसक्दा काम रोकिएको हो ।अघिल्लो कार्यकालका जनप्रतिनिधिले चारवर्ष अघिनै भवनको लागि ठेक्का लगाएका थिए । तर बजेट अपुग भएपछि काम रोकिएको हो ।
१० करोड ९९ लाख रुपैयाँको लागतमा निर्माणाधिन भवन गत वर्षको पौष मसान्तमा सकिनुपर्नेमा अझै नसकिएको हो । त्यसको लागि भुक्तानी समस्या प्रमुख रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीले बताए ।
अत्यावस्यक सेवा जस्तो अस्पताल पनि समयमा नबन्दा गाउँपालिकाले सेवा दिन नसकेको उनको गुनासो छ । १० शैयाको यो नगर अस्पताल निर्माण सम्पन्न भएमा गाउँपालिका भित्रका २५ हजार जनसंख्याले सेवा पाउनेछन् । साथै मध्यपहाडी लोकमार्गमा हुने अन्य दुर्घटनाका घाइतेको उपचारमा समेत सहज हुने छ ।
भवनको बाहिरी आवरण बनेपनि भित्री काम धेरै बाँकी रहेको हो । गत वर्ष नै निर्माण सकिने आसमा गाउँपालिकाले २० लाख खर्चेर खोला छेउमा पक्की पर्खाल समेत बनाइसकेको छ । खोलाकै छेउमा अस्पताल बनाएको भन्ने आलोचनाबाट जोगिन पालिकाले सुरक्षित पर्खाल लगाएपनि भवन भने अलपत्र परेको हो ।
भौगोलिक रुपमा पालिकाको मध्यभागमा परेको र मध्यपहाडी लोकमार्गबाट नजिक भएकोले अस्पताल संचालन हुनासाथ नागरिकले सेवा पाउने घर्तीले बताए । ‘अघिल्लो अध्यक्षकै पालामा यो भवन निर्माण सुरु भएको हो, अब त पुरा गरेर संचालन गर्ने बेला भयो, तर राज्यबाट आउने बजेट नै आएन’ उनले भने, ‘ठेकेदारलाई पनि छिटो काम सक्न ताकेता भने गरिरहेका छौं ।’
‘हिमदुङ एसी आइएस’ संयुक्त निर्माण कम्पनीले यो भवन बनाउने ठेक्का लिएको हो । गाउँपालिकाले ९ रोपनी जग्गा उपलब्ध गराएपछि संघिय सरकारले भवन निर्माणका लागि बजेट निकासा गरिदिएको थियो । तर ठेकेदारले अघिल्लो वर्ष गरेको कामकै डेढ करोड बढी भुक्तानी पाउन बाँकी छ ।
प्रमुख प्रशासकीय अधिकृत जीवन पुनले संघिय सरकारमा बजेट माग भैरहेपनि पाउन नसकेको गुनासो गरे । निसीखोलाको ७ वटा वडामध्ये ३ वटामा मात्रै स्वास्थ्य चौकी छन् । अन्यत्र स्वास्थ्य सेवा नपुगेकोले नगर अस्पताल बनेपछि सबैलाई सहज हुने भएकोले अस्पताललाई गौरवको योजनाको रुपमा लिएको घर्ती बताउँछन् ।
हाल बुर्तिवाङमा अस्पताल बनाउने तयारी छ । हाल अस्पताल खोज्नुपरेमा यहाँका बासिन्दाले १ सय ३० किमी परको सदरमुकाम वा झण्डै ९० किमीको पाल्पा पुग्नुपर्ने बाध्यता छ ।
कम्तिमा एक बिशेषज्ञ डाक्टरसहित आधारभूत उपचार र सुत्केरी सेवाको अपरेशन गराउन सक्ने गरी अस्पताल संचालनमा ल्याउने लक्ष राखिएको छ । ‘दक्ष चिकित्सक राख्न सकेमा हामीले अपरेशन सहितको सेवा दिन सकिन्थ्यो’ स्वास्थ्य शाखाकी प्रमुख जुनी घर्तीले भनिन्, ‘भूगोल र जनसंख्याको कारण यहाँ अस्पताल आबस्यक छ ।’
अस्पताल बनेपछि पालिकाले निसीखोलामा पनि पुल बनाउने लक्ष्य राखेको छ ।
मध्यपहाडी लोकमार्ग छेवैमा भएपनि खोला तरेर जानुपर्ने भएपछि अप्ठ्यारो भएकोले तत्काल पुल निर्माण गर्नुपर्ने उपाध्यक्ष प्रेम घर्तीले बताए । गाउँपालिकाले तत्काल ट्रस्ट पुल बनाउन सर्भे गरिसकेको छ । २३ मीटर लामो ट्रस्टब्रिजको नक्सांकन गरेर प्रदेश सरकारमा रकमका लागि पठाइएको हो ।
भवन बनिसक्दा ट्रस्ट पुल बनाएर संचालनमा ल्याउने लक्ष उनले सुनाए ।