images
images

गाजाको दहमा पर्यटन प्रवर्द्धन प्रवर्द्धन गर्न महायज्ञ गरिने

बागलुङ, पर्यटकीय स्थल गाजाको दहमा पर्यटन प्रवर्द्धन गर्न महायज्ञ गरिने भएको छ । बागलुङको जैमिनी नगरपालिका–३ स्थित गाजाको दहमा गाजा दह सिद्ध बराह श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने भएको छ । त्यस क्षेत्रमा पूर्वाधार निर्माणसँगै पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले महायज्ञ गरिने बताइएको छ ।

सिद्ध बराह मन्दिर संरक्षण समिति गाजाको दहको आयोजनामा आगामि मंसिर ८ गतेदेखी १४ गतेसम्म गाजा दह सिद्ध बराह श्रीमदभागवत ज्ञान महायज्ञ २०८१ गरिने भएको हो ।

सिद्ध बराह मन्दिरको पुननिर्माण गरी गुरुयोजना बनाएर धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्ने, गाजाको दहको संरक्षण गर्दै ताल परिषरमा सिद्ध बराह भगवानको पूर्णकदको मूर्ति निर्माण गर्ने लगाएतका उद्देश्यले ज्ञान महायज्ञ गर्न लागिएको वडा अध्यक्ष कृष्ण भुजेलले बताए ।

मंसिर ८ गते दिउँसो १ बजे भजनकिर्तन, बाजागाजा, शोभा यात्रा गरी ज्ञान महायज्ञको उद्घाटन गरिने, ९ गतेदेखि हरेक दिन बिहान ८ बजेबाट दिउँसो १ बजेसम्म पाठपरायण, २ बजेदेखि ५ बजेसम्म कथा प्रवचनका साथमा हरिनाम संकिर्तन, झाँकी, आरती र प्रसाद बितरण गरिने उनले बताए ।

बागलुङमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले मंसिर १५ गते प्रमुख बाचकबाट बालाचर्तुदशीको अवसरमा शतबीज छर्ने कार्यक्रमको शुभारम्भ गरिने बताए । ज्ञान महायज्ञको प्रमुख वाचकमा भागवत प्रखर युवा पण्डित आचार्य शिवदक्त रेग्मी र बिशिष्ट वाचकको रुपमा युवा डाक्टर धु्रव सापकोटा रहने बताए ।

उनले ५ सय भन्दा माथि सहयोग गर्ने सहयोगदाता अर्थात दानविरलाई रकम अनुसारको सम्मानपत्र प्रदान गरिने प्रत्येक दिन बाजागाजा सहित सम्मान गरिने बताए ।

सिद्ध बराह मन्दिर संरक्षण समितिका अध्यक्ष लोकबहादुर छन्त्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख होमनाथ शर्मा सापकोटा, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा र साँस्कृतिक संयोजक टेकबहादुर केसी संगमले मंतव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन संचारकर्मी दिलिप प्रतेलले गरेका थिए ।