विद्यालयमै नौमती बाजा र भजन सिक्दै विद्यार्थी

बाग्लुङ,  बागलुङ नगरपालिका वडा नं। १३ बलेवा स्थित त्रिभुवन माविको कक्षा ४ मा पढ्ने विवेक परियारले ढोलकी बजाएर शिक्षक, अभिभावकलाई चकित पारिदिए । उनकै साथी कक्षा ३ मा पढ्ने विशाल परियारले झ्याली बजाउन जानेका छन् । कक्षा १० मा पढ्ने विराट परियारले कर्नाल र सनाइ बजाउन जानेका छन् ।

सबै मिलेर नौमती बाजा झमझम बजाएर उनीहरुले गाउँमा रौनक ल्याउन थालेका छन् । यस्तो बाजा बजाउन उनीहरुले सिक्न थालेको एक वर्ष भयो । त्यसअघि एकदुई जनाले घरमा अभिभावकसँग पनि सिकेका थिए । विद्यालयले समूहमा राखेर सिकाएपछि सबैले बाजा बजाउन जान्ने भएका हुन् ।

त्यसो त उनीहरु पैसा कमाउने गरी कतै बजाउन गएका छैनन् । तर बालमैत्री बनाउने बागलुङ नगरपालिकाको अभियानदेखि धार्मिक र सामाजिक काममा विद्यालयका विद्यार्थीले नै नौमती बाजा बजाउन थालेका हुन् ।

मंगलबार भएको यहाँको भैरवस्थान मेला तथा हरेलो पर्वमा पनि उनीहरले नौमती बाजा बजाएर रमाइलो गरे । ती स्थानमा जाँदा विद्यालयले खाजाको व्यवस्थापन गरिदिने गरेको छ ।

नियमित पढाइ बाहेक गत वर्षदेखि यो विद्यालयले बालबालिकालाई नौमती बाजा सिकाउन थालेको प्रअ तिलक आचार्यले बताए । त्यसकालागि मुख्य प्रशिक्षक थिए विद्यालयकै शिक्षक थमबहादुर परियार । उनले सुरुसुरुमा गाउँमा रहेका बाजा बजाउन सिकाएपछि हौसिएका बालबालिकालाई विद्यालयले तीन लाख खर्चेर नौमती बाजाको सेट नै ल्याइदिएको हो ।

गत माघमा भएको विद्यालयको ववर्षिकोत्सवमा उनीहरुलाई पहिलो पटक समूहमा बाजा बजाउन सिकाइएकोमा अहिले भने नियमित बजाउन सक्ने भएका हुन् ।

विद्यालयले नौमती बाजा राख्ने सोकेश पनि बनाइदिएको छ । त्यहाँ सजाएर राखिएका बाजा विद्यार्थीले पुस्तकालयको किताब लगेझैं दर्ता गरेर लैजान पाउने व्यवस्था छ । त्यो व्यवस्था अनुसार पालैपालो जुनसुकै बाजा घरमा लैजान पाइन्छ । उनीहरुले सिकेर फिर्ता गर्छन् । यो विद्यालयको आसपासमा परियारहरुको बस्ती धेरै छ । तर नौमती सिक्नेमा परियारबाहेक अन्य जातका पनि छन् ।

सबै मिलेर नौमती बजाउन जान्ने भएपछि बालबालिकालाई हरेक शुक्रबारको अतिरिक्त क्रियाकलापमा पनि बाजा बजाउने प्रतियोगित समेत गराउन थालिएको प्रधानाध्यापक तिलक आचार्यले बताए ।

‘घरमा सिकिसकेका ठूला कक्षाका विद्यार्थीले सानालाई सिकाउँछन्’ उनले भने, ‘ताल मिले नमिलेको शिक्षकले हेरेर थप जानकारी दिने काम भएको छ ।’ यो अभियानले बालबालिकामा उत्साह थपिएको आचार्यले बताए ।

विद्यालयले विज्ञान प्रयोगशाला जस्तै बाजा सिक्ने कक्षलाईपनि व्यवस्थित बनाउन लागेको हो । यहाँ धेरै जनाले चासो राखेपछि एकजोर नौमती बाजाले नपुग्ने भयो । अभिभावक र विदेशमा बस्ने युवाबाट सहयोग जुटाएर कम्तिमा दुइ जोर बाजा पुर्‍याउने लक्ष्य उनले सुनाए ।

त्यसो त यो बिद्यालयमा भजन समूह पनि छ । रन्जिता शर्माको नेतृत्व टोलीले भजन गीत गाउँछन् । शिक्षक कृष्णप्रसाद शर्माले भजनको नेतृत्व गर्छन् । भजनकालागि चाहिने हारमुनियम, मादल र खैजेरी तथा मुजुरा पनि पुस्तकालय जस्तै राखिएको छ । ती सामान पनि बिद्यार्थीले फिर्ता ल्याउने शर्तमा घर लैजाने गरेका हुन् । पूजापाठ हुँदा, सरस्वती पूजा लगायतको समयमा उनीहरुले भजन पनि गाएका थिए ।

यहाँ बाली विज्ञान विषयको पढाइ पनि छ । कतिपय विद्यार्थीले प्लाष्टिकको घरमा तरकारी लगाएका छन् । ‘आफ्नो आफ्नो चाहना अनुसार विद्यार्थीले पढ्न, खेल्न र काम गर्न पाएका छन्’ आचार्यले भने, ‘शुरुवातमा भएपनि समाजमा सकारात्मक सन्देश गएको छ ।’ विद्यार्थीले पनि आफ्नो रोजाइको पढाइ र सीप सिक्न पाएकोमा खुसी भएका हुन् ।

उनीहरुको सीप देखेर दंग परेको भन्दै वडा अध्यक्ष नारायण शर्मा पौडेलले बालबालिकाले बाजा बजाएको दिनमा खाजा खुवाउने व्यवस्थापनमा सहयोग गरेका छन् । उनले कार्यक्रममा समावेश गरेर बालबालिकाको क्षमता विकासमा सहयोग गर्ने समेत प्रतिबद्धता जनाएका छन् । बाजा बजाउन सिक्दा विद्यार्थीले संगीतका अन्य विधाबारे पनि जान्न पाउने र आवस्यक परे प्रशिक्षणमा नगर र वडाबाट साथ दिने उनले जानकारी दिए ।