images
images

दुर्घटना न्युनिकरण गर्न बागलुङमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु

बागलुङ । चाडपर्व नजिकिएसंगै यात्रुहरुको थप सहजता र सडक दुर्घटना न्युनिकरण गर्ने अभिप्रायले बागलुङमा सडक सुरक्षा सचेतना कार्यक्रम शुरु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङ र अस्थायी ट्राफिक पोष्ट मालढुंगाको संयुक्त आयोजनामा दुर्घटना न्युनिकरण र सचेतनाका लागि सडक सुरक्षा सचेतना कार्यक्रम शुरु भएको हो ।

चाडपर्वमा धेरै यात्री हुने, त्यसका लागि चालकहरु पनि हतार गर्ने, यात्रीले पनि कोचाकोच यात्रा गर्ने जस्ता समस्याले दुर्घटना निम्तने भएकोले सडक सुरक्षा सचेतना शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुमन निउरेले जानकारी दिनुभयो ।

कार्यक्रम मार्फत नागरिकलाई दायाबाँया हेरेर मात्र सडक पार गर्न, बाटो काट्नेलाई गाडीको गति हेरेर मात्र काट्न, लामो तथा छोटो दुरीका गाडी चालक र सह–चालकलाई गाडीको अवस्था र क्षमताको विषयमा सचेत गराइएको उहाँले बताउनुभयो ।

निउरेले यात्रुलाई छत र जिपको ढालामा बसेर यात्रा नगर्न पनि आग्रह गरिएको जानकारी दिनुभयो ।

यात्रा गर्दा कहिल्यै पनि हतार गर्न नहुने, गाडीमा चढ्दा र ओर्लदा पनि होसियारी अपनाउनु पर्नेमा उहाँको सुझाव थियो ।

अधिकांस दुर्घटना चालकको लापरबाही, यात्रीको हैरानीबाट हुने चिन्ता लगायतबाट भएको देखिएको जानकारी दिदै निउरेले सडक अप्ठ्यारोका कारण दुर्घटना हुने अवस्था भने कम मात्रामा रहेको बताउनुभयो ।

अप्ठ्यारो सडक भएको स्थानमा चालक आँफै सचेत हुने भएकोले यात्रीको चाप र छिटो गन्तव्यमा पुग्ने हतारलाई न्युनिकरण गर्ने मुख्य लक्ष्यका साथ अभियान चलाएको निउरेले बताउनुभयो ।

निउरेले मालढुंगामा हेल्प डेक्सको रुपमा पनि ट्राफिकले काम गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

दशै, तिहार, छठ लगायतका पर्वको अवसरमा ट्राफिकले सचेतना अभियान जारी राख्ने जनाएको छ ।