बागलुङ, दसैंको पहिलो दिन बिहिबार घटस्थापनाको अवसरमा प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा सयौं भक्तजन भीड लागेको छ । देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दसैंको रौनक देखिएको छ ।
प्रसिद्ध शक्तिपिठ भएकोले दसैं र चैतेदसैंमा यहाँ धेरै भक्तजन आउने गर्छन् ।
जिल्लाबाहेक चितवन, बुटवल, स्याङ्जा, पोखरा र अन्य छिमेकी जिल्लाका बढी भक्तजन आउने गरेको कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले बताए । बिहिबार बिहानैदेखि मन्दिरमा भीड छ ।
सोह्र श्राद्धमा मुक्तिनाथ गएका भक्तजनले पनि बागलुङ कालिका दर्शन गरेर मात्र फर्कन चाहेपछि मन्दिरमा भीड थियो ।
‘मुक्तिनाथ पुगेर श्राद्ध गरियो, कालिका पनि दर्शन गरेर फर्कन प-यो भनेर आयौं, कालिकामा पुजा गरेपछि मनको शान्ति मिल्छ,’ पोखराबाट आएका पोषण शर्माले भने, ‘बागलुङ कालिका हाम्रो आस्थाको धरोहर हो ।
’ बेला बेला कालिका मन्दिरमा आउने गरेको उनले सुनाए ।
विद्यालय र कलेज बन्द भएर फर्कनेहरुले पनि घटस्थापनाको दिन कालिका दर्शन गरेर मात्र फर्कने भएकोले मन्दिरमा भक्तजन आइरहने गर्छन् ।
होटल संघका अध्यक्ष निलेश राजभण्डारीका अनुसार, केही दिनदेखि होटलहरु भरिभराउ भएका छन् ।
दसैंको टीकाको दिनबाहेक दसैंभर भक्तजनले होटलका कोठा भरिन्छन् ।
कालिका मन्दिरमा कति भक्तजन आए भन्ने यकिन तथ्यांक राख्ने चलन छैन । तर खपत भएका नरिवल र बलीको संख्याको आधारमा अनुमान गर्ने गरिएको छ ।
हरेक वर्ष दसैंमा ४ लाखभन्दा बढी नरिबल बिक्री भएको तथ्यांकले सोही संख्यामा भक्तजन आउने अनुमान खड्काले गरे ।
चैतेदसैंमा पनि यहाँ सयौंको भीड लाग्छ । ५ सय वर्ष पुरानो कालिका मन्दिर स्थापना भएपछि नियमित पूजा भएको स्थानीय जानकारहरुले बताए ।
प्रसिद्ध शक्तिपिठ भएकोले कालिकाको पूजा गर्न सैनिक, प्रहरी लगायतका जंगी अड्डा क्षेत्रका पदाधिकारी समेत आउने गर्छन् ।