
पर्वत, जलजला गाउँपालिकामा कार्यरत सबै कर्मचारीहरु एकसाथ आन्दोलनमा उत्रिएका छन् । मङ्गलवार गाउँकार्यपालिकाको कार्यालयमा कार्यालय समयमा गाउँपालिकाकै जिम्मेवार केही पदाधिकारी (जनप्रतिनिधि)बाट कर्मचारीहरुले आफूहरुमाथि दुर्व्यवहार भएको भन्दै बुधवारदेखि आन्दोलन गरेका हुन् ।
कार्यालय समयमा जिम्मेवार पदाधिकारीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी नेमप्लेट र सूचना अधिकारीको बोर्ड समेत कार्यालय परिसर बाहिर फाल्ने, अमर्यादित र धम्कीपूर्ण शब्दहरुको प्रयोग गरी तथानाम गालीगलौज गर्ने तथा अन्य शाखाहरुका कर्मचारीहरुलाई समेत धम्काउने जस्ता अनुशासनहिन क्रियाकलापहरु भएकाले कर्मचारीले आन्दोलन गर्नुपरेको बताएका छन् ।
स्वास्थ्य शाखामा कर्मचारीको पदपूर्तिको विषयलाई लिएर गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यबाट कर्मचारीमाथि गलत क्रियाकलाप भएकाले कार्यालयमा रही काम गर्न उचित वातावरण नभएकाले कार्यालयमा सहज रुपमा काम गर्ने वातावरण नबन्दासम्म गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यक कामबाहेकका सम्पूर्ण सेवा प्रवाह गर्न नसकिने जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।
गाउँपालिकाका जिम्मेवार पदाधिकारीबाट भएको दुव्र्यवहारबारे जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत आचार्यले भन्नुभयो, ‘कार्यस्थलमा काम गर्दै थियौं, कार्यालयको नियमित काम भैरहेको थियो । कार्यालयको नियमित काम सञ्चालन गर्दैगर्दा ४ नम्बर वडाध्यक्षज्यू, ३ नम्बर वडाध्यक्षज्यू, २ नम्बर वडाध्यक्षज्यू र कार्यपालिका सदस्य भीमसेन विश्वकर्मा कार्यालयको कार्यकक्षमा प्रवेश गरी ४ नम्बरको वडाध्यक्षज्यूले तथानाम गालीग्लौज गर्नुभयो ।
विषयचाहीँ के थियो भन्दा लोकसेवा आयोगबाट दुईजना स्वास्थ्यका एचए कर्मचारीहरु पदपूर्ति भएर आउनुभएको थियो । त्यही सिलसिलामा दुईजना करारका कर्मचारीलाई अटोमेटिक रुपमा उहाँहरुलाई पुनसर््थापना गर्दा उहाहरुलाई विस्थापित गर्नुपर्ने सर्वमान्य सिद्धान्त छ ।
त्यसैले गर्दा दुईजना करारका कर्मचारीको सम्झौता रद्द गरेर उहाँहरुलाई पदपूर्ति पदस्थापना ग¥यौं । त्यही निर्णयको विरुद्ध उहाँहरुले कर्मचारीलाई तपाइँले निकाल्न पाउनुहुन्न, तपाईँले यसरी हाम्रा कर्मचारी निकाल्दिने ? भन्ने खालको आशयले मेरो नेमप्लेट उहाँले फाल्दिनुभयो र सूचना अधिकारीको बोर्ड समेत फाल्दिनुभो र अन्य शाखाहरुमा समेत प्रवेश गरी कर्मचारीहरुलाई तँ काम नगर जा भन्ने खालको धम्कीपूर्ण भाषा प्रयोग गरी अभद्र व्यवहार गरेकाले हामीलाई सहज रुपमा काम गर्ने वातावरण भएन ।
सहज रुपमा भयरहित वातावरणमा नियमसङ्गत काम गर्ने वातावरण नभएसम्म हामीले काम गर्न सक्ने स्थिति नभएकोले गाउँपालिकाबाट हुने अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु ठप्प गर्ने निर्णय ग¥यौं ।’
यता जलजला ३ का वडाध्यक्ष एकेन्द्र केसीले भने आफू गाउँपालिकाको कार्यालयमा पुग्दा विवाद सामान्य भैसकेको बताउँदै करारका कर्मचारीलाई दसैँसम्म राखेर अध्यक्ष फर्किएपछि कर्मचारीको व्यवस्थापन गर्नुपर्ने आफूहरुको माग रहेको बताउनुभयो । कार्यपालिका वैठकमा विवाद भएर टुङ्गिन बाँकी रहेको विषयलाई कार्यान्वयन गर्न खोज्दा अहिलेको अवस्था सिर्जना भएको उहाँको भनाइ छ ।
यही विषयमा बुझ्नको लागि गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यलाई पटकपटक फोन गर्दा सम्पर्क हुन सकेन ।