बागलुङ । मुद्दा परेको डेढ वर्षपछि इमेज बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष देवकुमार नेपालीको सोमबार जिल्ला अदालत बागलुङमा बयान लिईएको छ ।
सोमबार बिहान ११ बजे प्रहरीको गाडीमा जिल्ला अदालतमा पु-याइएका नेपालीलाई प्रहरीको सुरक्षाघेरामै इजलास पु-याइएको थियो ।
मुद्दा लागेको डेढ वर्षपछि नेपाली अदालतमा उपस्थित भएको शाखा अधिकृत शाखा अधिकृत ऋषिराम रिजालले जानकारी दिनुभयो ।
सोमबार बयान सकिएकोले मंगलबार थुनछेक बहस हुने भएको छ । सोमबार बयानका लागि लगिंदा सहकारी पीडित संघर्ष समितिका अगुवा समेत अदालत परिसर पुगेका थिए ।
२०८० को बैसाखमा तरलता अभाव देखाएर सहकारी बन्द गरेपछि जेठ ४ गतेदेखि नेपाली फरार रहनुभएको थियो ।
प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरेर ल्याएपछि सोमबार अदालतमा ल्याइएको हो । आइतबार बेलुकी बागलुङ आएका नेपालीलाई प्रहरीले आफ्नै हिरासतमा राखेको छ ।
नेपालीविरुद्द १ हजार ५ सय ४३ जना बचतकर्ताले रकम ठगीको आरोप लगाएर जाहेरी दिएका थिए ।
सोही जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते जिल्ला अदालतमा १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । नेपाली ढोरपाटन नगरपालिकाका मेयर समेत हुनुहुन्छ ।