
बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मृत्यु हुनेको सङ्ख्या १ सय ९२ पुगेको छ ।
पछिल्लो तीन दिनमा वर्षाजन्य विपद्मा परेर १ सय ९२ जनाको ज्यान गएको प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रवारदेखि आईतवारसम्म विभिन्न जिल्लामा १ सय ९२ जनाको ज्यान गएको छ ।
सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ४१ जनाको ज्यान गएको छ । काठमाण्डौमा १४, ललितपुरमा २२ र भक्तपुरमा पाँच जनाको ज्यान गएको उहाँले बताउनुभयो ।
यसअघि सशस्त्र प्रहरीले भने काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ७३ जनाको ज्यान गएको बताएको छ ।
यस्तै नेपाल प्रहरीका अनुसार धादिङमा ३८, काभ्रेमा २९ र मकवानपुरमा ७ जनाको ज्यान गएको छ ।
यस्तै सिन्धुपाल्चोकमा ६, दोलखामा ३, सिन्धुलीमा २ र रामेछापमा १ जनाको ज्यान गएको छ यसैगरी सोलुखुम्बु र पाँचथरमा ५/५ जना, झापा र धनकुटामा २/२ जना तथा इलाम र उदयपुरमा एक/एक जनाको ज्यान गएको छ । महोत्तरीमा २ जना र सप्तरीमा १ जनाको ज्यान गएको छ ।
यस्तै बाढी पहिरोमा परी ३० जना बेपत्ता भएका छन् । सबैभन्दा धेरै काभ्रेमा २३ जना बेपत्ता छन् ।
स्तै ललितपुरमा १५, काठमाण्डौमा ५, सिन्धुपाल्चोकमा ६, दोलखामा ४, धादिङमा २, पाँचथरमा ५ जना तथा झापा, मोरङ र महोत्तरीमा १÷१ जना बेपत्ता भएका नेपाल प्रहरीले जनाएको छ ।
बाढी पहिरोमा परेर अहिलेसम्म ३ सय ३४ वटा घर बगेका छन् । यस्तै ४ वटा पक्की पुल र २ वटा बेलिब्रिजसहित १६ वटा पुल पनि बगेका सशस्त्र प्रहरीले जनाएको छ ।
बाढी पहिरो प्रभावित कतिपय ठाउँमा अझै पनि सञ्चार सम्पर्क हुन नसकेकाले क्षतिको विवरण आउन नसकेको पनि प्रहरीले जनाएको छ ।