देवकुमार नेपालीलाई बागलुङ ल्याइयो

बागलुङ, सहकारी ठगीमा फरार इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीलाई पक्राउ गरी बागलुङ ल्याइएको छ ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले शनिबार भारतको दिल्लीबाट पक्राउ गरि नेपाल ल्याएको हो ।

नेपालीलाई काठमाडौंबाट हवाई मार्ग हुँदै पोखरा ल्याइएको र जिल्ला प्रहरी कार्यालय बागलुङले पोखराबाट जिप मार्फत ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल शर्मा चिलवालले  जानकारी दिनुभयो ।

चिलवालका अनुसार उहाँलाई सोमबार जिल्ला अदालत बागलुङमा पेश गरिने भएको छ ।

२०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो ।

नेपाल प्रहरीले भारतस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनलाई नेपाल ल्याइएको थियो ।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।

सहकारीका बचतकर्ताको करिब दुई अर्ब बचत रकम हिनामिना गरी विसं २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।

नेपाली बागलुङमा आएपछि बचतकर्ताको रकम कसरी फिर्ता हुन्छ सबैले चासोका साथ हेरि रहेका छन् ।