बागलुङ, एकबहादुर केसीलाई प्रहरीले आज बागलुङ बजारबाट पक्राउ गरेको छ ।
बागलुङ बसपार्कमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनावरण गरेको शिलालेख घनले तोड्फोड गर्ने अभिव्यक्ति दिएपछि केसीलाई विद्युतीय ऐन अन्तर्गत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिकाले दिएको निवेदनको आधारमा जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको कँडेलले जानकारी दिनु भयो ।
कँडेलका अनुसार बागलुङ बसपार्कको उद्घाटनको विषयलाई दिएको अराजक अभिव्यक्तिले केसी आलोचित बनेका थिए । केसीलाई जिल्ला अदालत बागलुङले विद्युतिय कारोवार ऐन २०६३ बमोजिम ५ पाँच दिनको म्याद थप गरि अनुसन्धानको लागि थुनामा राख्न आदेश दिएको छ ।
गत भदौ १८ गते बागलुङ बसपार्क मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्नु भएको थियो ।
भदौं २० गते एक बहादुर केसीले बसपार्क नचलेको भन्दै बसपार्कमा राखिएको शिला तोडफोड गर्ने बताएपछि बागलुङ नगरपालिकाले बसपार्कको सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको थियो ।
अदालतले पक्राउ पुर्जी जारी गरेको दुई हप्तापछि प्रहरीले केसीलाई पक्राउ गरेको हो ।
एकबहादुर केसीले गत भदौ २० गते फेसबुकमा स्टाट्स लेख्दै शिलालेख भत्काउन अव ढिला गर्नुहुदैन जागौ नागरिक भनेर अराजक अभिव्यक्ति दिएका थिए । सार्वजनिक सम्पत्ति तोड्फोड गर्ने उनको अभिव्यक्तिले समाजमा आतंक सृजना गरेको थियो ।
भदौ २१ गते एक सञ्चार माध्यममा समेत प्रतिकृया दिदै उनले भनेका थिए ‘प्रदेशका मुख्यमन्त्री आएर उदघाटन गरेको भएर प्रदेशको मुख्यमन्त्रीलाई चुनौती थपियो भन्ने लाग्दछ, उहाँले आएर जुन रिवन काटनु भयो, शिलालेखमा आफनो नाम लेखाउनु भएको छ, त्यो नामले उहाँलाई गिज्याई रहेको छ, आम बागलुङवासीलाई आव्हान गर्दछौ हामी, शिलालेखको जुन ताम्रापत्र छ त्यसलाई हामी फुटाईदिन्छौ ।’
‘जसरी एउटा कालखण्डमा राजाको शालिक भत्काईएको थियो राजाका शालिकका शिरहरु फुटाले जस्तै जहाँ जहाँ नेताहरुले शिलालेख राखि रिवन काटेर उदघाटन गरेका ठाउँहरु छन ती सबै घन लिएर आउँछौ र फुटालि दिन्छौ’ उनले भनेका थिए ।
२०५८ सालमा बसपार्क निर्माणका लागि स्थानीय ३५ जना जग्गादाताले साढे १७ रोपनी जग्गा नगरपालिकालाई निःशुल्क प्रदान गरेका थिए ।
तत्कालिन नगर प्रमुख जनक राज पौडेलको पालामा नगर विकास कोषबाट ५.५ प्रतिशत व्याजमा २० वर्षभित्र तिर्नेगरी विसं २०७४ मा नौ करोड ऋण लिएर बसपार्क बनाउने कार्य अगाडि बढे्को थियो ।
विसं २०७५ सालको असोजमा ठेक्कामा गएको बसपार्क विसं २०७८ सालको सुरुतिर निर्माण सम्पन्न भएको थियो । उक्त बसपार्क २३ वर्षपछि सञ्चालन आएको हो ।