बागलुङ, मा रहेको धवलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठानले पाँच कार्यक्रम थप गरेको छ । प्रविणता प्रमाण–पत्र तहमा पाँच कार्यक्रम थपिएको प्रमुख गणेश जंग गोदरले बताए ।
शैक्षिक सत्र २०८१/८२कोलागि प्रविणता प्रमाण–पत्र तहमा पशु विज्ञान, बाली विज्ञान, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ थप भएको हो । सबै कार्यक्रम तीन बर्षे रहेका छन् ।
त्योसँगै ३ महिने केयर गिभर (हेरचाह) तालिम थप भएको छ । यसले बागलुङमा एसएलसीपछि विद्यार्थीहरुलाई थप अवसर सृजना गरेको प्रमुख गोदरले बताए ।
सिटिईभिटीबाट मान्यता प्राप्ता प्रतिष्ठानमा सामान्य चिकित्सा (हेल्थ असिस्टेन्ट) र ल्याब टेक्नोलोजीमा पढाई हुँदै आएको थियो ।
नयाँ शैक्षिक वर्षकोलागि २४६ कोटा निर्धारण गरिएको छ भने केयर गिभर तालिममा एक समुहमा २० जना सहभागि हुन पाउनेछन् । अन्य विषयकोलागि एसईईमा २ जिपिए प्राप्त गरेकोले पढ्न पाउनेछ भने केयर गिभर तालिममा कक्षा ८ उत्तिर्ण सहभागि हुन पाउनेछ ।
धवलागिरी प्राबिधिक शिक्षा प्रतिष्ठानका अध्यक्ष श्रीप्रसाद शर्माले थपिएका कार्यक्रमले बागलुङमा चहलपहल बढाउन सहयोग पुग्ने बताए ।
‘यसले विद्यार्थीहरुलाई पढ्नकोलागि थप अवसरहरु सृजना गरेको छ, त्योसँगै बागलुङलाई चहलपहल गराउनपनि मद्धत पुर्याएको छ ।’ उनले भने–‘थपिएका कार्यक्रमले सक्षम नागरिक उत्पादनमा सघाऊ पुग्नेछ ।’
उनले प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीहरुले राम्रो शैक्षिक प्रगति गरेको बताए । २०६५ सालमा स्थापना भएको प्रतिष्ठानबाट हेल्थ एसिष्टेन्ट तर्फ ४२६, ल्याब टेक्निसियन २१५, स्टाफ नर्स ४७२ जना उत्तिर्ण भएको बताए । ति मध्ये ४१७ जना हालसम्म उच्च शिक्षामा रहेको बताए ।