मुस्ताङमा उत्पादित रोयल, रेड, गोल्डेन लगायतका स्याउ मंगलवार देखि टिप्न थालिएको छ । गएको भदौ पहिलो हप्ता जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङको अध्यक्षतामा सम्पन्न सरोकारवालाको बैठकले स्याउ टिप्ने समय तालिका बनाएको थियो ।
तालिका अनुसार असोज महिना लागेपछि रोयल, रेड र गोल्डेन डेलिसियस प्रजातिका स्याउ टिप्न शुरू भएको हो ।
पाँचवटा गाउँपालिका रहेको मुस्ताङको विभिन्न ठाउँमा लगाइएको स्याउ पाकेपछि किसानले टिपेर बजारमा पठाउने तयारी थालेका कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ ।
मुस्ताङका किसानले लगाएको रोयल डेलिसियस, रेड डेलिसियस, गोल्डेन डेलिसियस र फुजी प्रजातिका स्याउ टिपेर बजार पठाउन शुरू भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताउनुभयो ।
उहाँका अनुसार मुस्ताङमा उत्पादित छिटो पाक्ने गाला प्रजातिको स्याउ भदौ १० र किङरोट रेड डेलिसियस प्रजातिको स्याउ भदौ १५ गतेपछि टिप्ने निर्णय भएको थियो भने अन्य प्रजातिका स्याउ असोज लागेपछि मात्रै टिपेर बजार पठाउने निर्णय भएको थियो । छिटो पाकेका स्याउ भने टिपेर यसअघि नै बजार पठाइसकिएको छ ।