images
images

बागलुङ बसपार्कबाट छुट्न थाले लामो दुरीका बस

बागलुङ । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दाबगरामा निर्माण गरिएको बसपार्क सञ्चालन भएको छ ।

गण्डकी प्रदेशको सुविधा सम्पन्न लामो दुरीको बसपार्क धौलागिरी गण्डकी यातायात सेवा प्रालिसँग एक वर्षे सम्झौतामा सञ्चालनमा आएको हो ।

२३ वर्षपछि निर्माणसँगै सञ्चालनमा आएर उद्घाटन गरिएको बागलुङ बसपार्कलाई निरन्तर चलाउन नगरपालिका र यातायात व्यवसायीहरु सक्रिय भएका हुन् ।

बसपार्कबाट बस, मिनि बस र माइक्रो बस निरन्तर रुपमा सञ्चालन गर्न यातायात व्यवसायीले नगरपालिकासँग आधिकारीक सम्झौता गरेर अघि बढेका छन् ।

अहिले बजार मूल्य अनुसार पचास करोडभन्दा बढी मूल्य पर्ने १७ रोपनी जग्गा विसं २०६० सालमा जग्गा व्यवस्थापन समितिले बसपार्क बनाउन बागलुङ नगरपालिकालाई निःशुल्क प्रदान गरेको २३ वर्षमा आधुनिक बसपार्क सञ्चालनमा आएको हो ।

बसपार्कमा आंशिक रुपमा बस चलिरहेको र काउन्टर खोल्ने क्रम जारी भइरहेको सन्दर्भमा भदौ २४ गते बागलुङ नगरपालिका र यातायात व्यवसायीबीच सम्झौता गरेर बस राख्न थालिएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो ।

धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी र बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कँडेलबीच बसपार्क एक वर्षका लागि चलाउन रु १२ लाख ४३ हजारमा सम्झौता गरिएको छ ।

बागलुङ नगरपाकिला–४ स्थित दाबगराको बागलुङ बसपार्क र बागलुङ नगरपालिका–३ स्थित चिप्लेटी बसपार्कको गरेर एकमुष्ट सम्झौता गरिएको छ ।

उपल्लाचौरको बसपार्कमा अहिले दैनिक बस छुटिरहेको धौलागिरी गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बताउनुभयो ।

अहिले बसपार्कबाट दैनिक लामो दुरीको तीन वटा बस र छोटा दुरीका पाँच वटा बस चलि रहेको अध्यक्ष केसीले बताउनु भयो