राष्ट्रिय जनमोर्चाले प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठायो

बागलुङ। राष्ट्रिय जनमोर्चा बागलुङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई २७ बुदे ज्ञापनपत्र पठाएको छ । जनमोर्चाले भदौ महिनामा संचालन गरेको विशेष संगठनात्मक अभियानका क्रममा जनताले गरेका गुनासो र समाधान गर्न सकिने विषयलाई लिएर बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र पठाएको हो ।

राष्ट्र र राष्ट्रियता, जनजिवीकाको सवाल र पूर्वाधार एवँ विकास निर्माणका गतिविधीलाई समेटेर २७ बँुदे ज्ञापन पत्र पठाइएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष तिलक थापाले जानकारी दिनुभयो । जनमोर्चाले संघिय सरकार मार्फत संघियताको खारेजीको माग गरेको छ ।

शुरुवात देखि नै देशले संघियता धान्न नसक्ने भन्दै विरोध गर्दै आएको अवस्थामा अहिले त्यसको प्रभाव देखिदैै गएकाले संविधान संशोधनका क्रममा यसलाई खारेज गर्नुपर्ने माग जनमोर्चाले गरेको छ । गणतन्त्र माथी हुन सक्ने प्रहारलाई रोक्न सचेत हुन पनि आग्रह गरिएको छ ।

त्यस बाहेक राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाका लािग नेपाल–भारत बिच सन् १९९० मा भएको असमान सन्धी सहित नेपाल बिरुद्ध भएका असमान सन्धीसम्झौता खारेजीको पनि माग गरेको हो । नेपालको सीमा मिचिएकोमा राज्यले ध्यान नदिएको, एमसीसी लगायत राष्ट्रहित विपरितका सम्झौताहरु खारेजी गर्नुपर्ने, लुटिएको जमिन फिर्ता गर्नुपर्ने लगायतको माग पनि गरिएको छ ।

ज्ञापन पत्रका नेपालीहरुको चाडपर्वको मौका छोपेर बजारमा सिर्जना गरिने कृत्रिम अभाव, मुल्यबृद्धि, कालोबजारी, सवारी साधनको चर्को भाडालाई रोक्नु पर्ने र यातायात क्षेत्रमा बढ्दो दुर्घटनाको न्युनिकरणका लागि सडकको बिस्तारमा जोड दिएको छ ।

जनमोर्चाले ज्ञापन पत्र मार्फत मध्यपहाडि लोकमार्गको बागलुङ घोडाबाँधे खण्डको काम तत्काल सुचारु गर्नुपर्ने, कालिगण्डकी करिडोर सालझण्डी ढोरपाटन सडकको निर्माण कार्यलाई तिव्रता दिनुपर्ने, उत्तरगंगा जालशययुक्त जलविद्युत बागलुङकै भुगोलमा पर्ने गरि कामको शुरुवात गर्नु पर्नेमा जोड दिएको जिल्ला सचिव भिमलाल पोखरेलले जानकारी दिनुभयो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले राष्ट्र र राष्ट्रियता सवाल, जनजिवीकाको विषय र विकास निर्माणसंग सम्वन्धित बिषय समेटिएको ज्ञापन पत्र प्रधानमन्त्री कार्यालयमा तत्काल पठाउने प्रतिवद्धता जनाउँदै जिल्लाबाट हुन सक्ने समस्या समधानमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।